|

गुल्मी : जिल्लामा बदर मत कम गर्न नमुना मतदान गरिएको छ। ३० वैशाखमा  हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बदर मत कम गर्न नमुना मतदान गरिएको हो। धुर्कोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयमा जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थितिमा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सकेसम्म मत बदर कम गर्नका लागि अहिलेको अवस्थाको बारेमा जानकारी लिन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।

मतदाता शिक्षाको पहुँचमा सर्वसाधारण छन् वा छैनन् भनेर सर्वेक्षणका लागि मतदान भएको कुँवरले बताइन्।

जिल्लाको सदरमुकाम तम्घासमा मात्र केन्द्रित नभई ग्रामीण भेगमा पुगेर नमुना मतको सर्वेक्षण गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

सहरमा भन्दा ग्रामीण क्षेत्रमा मत बदरको संख्या बढी हुने भएकोले धुर्कोटमा पुगेर नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

हिमालय माध्यमिक विद्यालय केन्द्रमा भएको नमुना मतदानमा ९० जना सहभागी थिए। जसमध्ये ७८  मत सदर थिए। १२  बदर मत थिए। कुल मतको १३ दशमलव ३३ प्रतिशत मत बदर भएको धुर्कोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.