२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताको कीर्तिमान

|

अन्जु कार्की

सोलुखुम्बु : यस वर्षको  वसन्त यामको सगरमाथा आरोहण सकिएको छ। पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ। सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए।

‘सगरमाथाबाट केही आरोही र सहयोगी फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने, ‘अरु हिमालबाट सबैजसो फर्किसक्नु भयो।’ कतिपय आरोही र उनीहरूका सहयोगी आधार शिविरबाट पदयात्रा गर्दै फर्कने क्रममा रहेको उनले बताए।

तथ्यांक विश्लेषण शुरु

यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्यांक आउन भने केही समय लाग्ने निर्देशक उपाध्यायले जानकारी दिए। यो वर्ष सफल आरोहण गरेका आरोहीको संख्या कम्पनीहरूले गर्ने ब्रिफिङपछि मात्र निश्चित हुने उनको भनाइ छ। यो पटक अनलाइन डि–ब्रिफिङ र त्यसपछि डि–ब्रिफिङ गरिँदैछ। अनलाइन डि–ब्रिफिङ नभरेमा आरोहण प्रमाणपत्र जारी हुँदैन।

यस वेला आरोहण दलका सदस्य के–कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे भन्ने विवरणसमेत राख्नुपर्छ। डि–ब्रिफिङका दौरान पर्वतारोहणमा जाने दलसम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरणसहितको प्रतिवेदन विभागमा पेश गर्नुपर्छ। त्यसमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलबारे विवरणसमेत पेश गर्नुपर्ने नियम छ।

५ जनाको मृत्यु

यो वर्ष सगरमाथामा कुल ५ जनाको मृत्यु भएको छ। सगरमाथामा औसत ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। पर्यटन विभागका अनुसार यो वर्ष २ जना नेपाली  ३ जना विदेशीको मृत्यु भएको छ।

कामीरिताको रेकर्ड

कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए। उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ। उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए।

त्यतिवेला कामीरिताले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए। १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो पुगेका कामीरिताको नाममा ८ हजार मिटरभन्दा अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.