|

काठमाडौं : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अब्बल रहेको बताएका छन्।

उनले नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए।

आज चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका रहेको बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजदेखि शिखर गाेष्ठी सुरु भएकाे हाे।

उनले सहकारीकाे बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरेका छन्। ‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ’, उनले भने, ‘दूरदराजका दिदीबहिनी, आमाहरुलाई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा सहकारीले भूमिका खेलेको छ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। आयकरको दर पुरानै कायम गर्न उनले नेपाल सरकारलाई आग्रह गरे। त्यस्तै उनले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको माग समेत गरे।

आजबाट सुरु भएकाे साकोस शिखर गोष्ठी काठमाडौंको द सोल्टी होटलमा दुई दिनसम्म चल्नेछ। गोष्ठीमा देशभरका करिब ७ सय बचत तथा ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.