|

मलेसियामा समुद्री दलदलयुक्त वन र पारिस्थितिक प्रणाली संरक्षणको प्रयासस्वरुप ७० लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोप्न लागिएको छ।

यो कदमले तटीय क्षेत्रहरूमा द्रुत रूपमा जारी विकासको प्रभावलाई कम गर्न र तटीय क्षेत्रको छेउमा बसोबास गर्ने समुदायहरूको सुरक्षा गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री तकीयुद्दीन हसनले बताएका छन्।

म्यान्ग्रोभ इकोसिस्टमको संरक्षणको लागि अन्तरराष्ट्रिय दिवसमा जारी गरिएको विज्ञप्तिमार्फत उनले यस विषयमा थप प्रकाश पारेका छन्।

'देशको समुद्री दलदल वनको संरक्षणको प्रयासमा थुप्रै चुनौतीहरू छन्। मलेसिया द्रुत विकासशील देश हो जहाँ तटीय क्षेत्रहरूमा विकास, जलचर र कृषिको विकास र विस्तार तीव्ररूपमा भइरहेको छ', उनले भने।

'समुद्री दलदल वन क्षेत्रको क्षतिले स्थानीय समुदायको जनजीवनमा प्रत्यक्ष असर मात्र गर्दैन त्यसले हानिकारक कार्बन सोस्नेलगायत अन्य थुप्रै किसिमका काममा असरहरू गर्ने गर्दछ', विज्ञप्तिमा भनिएको छ।

गत जुन ३० सम्ममा ३ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गरिएको छ। साथै सरकारले तटीय वन स्रोतको सफल उपयोग, संरक्षण र व्यवस्थापनका लागि दोस्रो राष्ट्रिय तटीय क्षेत्र भौतिक योजना कार्यान्वयन गरिरहेको समेत मन्त्री हसनले बताएका छन।

'तटीय दलदलयुक्त वनहरूले तटीय क्षेत्रहरूलाई कटानबाट जोगाउने, तीव्र हावा र समुद्री छालको प्रभावबाट जोगाउने र स्थानीयका लागि आम्दानीको राम्रो स्रोतको रूपमा समुद्री जीवनको प्रसारको लागि उपयुक्त पारिस्थितिक प्रणाली प्रदान गर्न लगायतको बफर जोनको रूपमा समेत ठूलो भूमिका खेल्छ', उनले भने।

त्यसैगरी सरकारले समग्र समाजको दृष्टिकोण राख्दै विभिन्न नागरिक समाज र स्थानीय समुदायसँग घनिष्ट सहकार्य गर्नुका साथै संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूलाई परिचालन गरी काम गरिरहेको पनि मन्त्री हसनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.