|

काठमाडौं : शुक्रबारदेखि नेपाली फिल्म 'पानीफोटो' सहित हिन्दी फिल्म 'एक भिलेन रिटर्न्स' र कन्नड फिल्म 'विक्रान्त रोना'ले प्रदर्शन थालेका छन्। खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा बनेको सोसियल ड्रामा 'पानीफोटो' तथा मोहित सुरी र अनुप भण्डारीको निर्देशनमा बनेका एक्सन थ्रिलर फिल्म 'एक भिलेन रिटर्न्स' र 'विक्रान्त रोना'ले एकसाथ प्रदर्शन थालेका हुन्। 

१२ वर्षअघि खगेन्द्रकै लेखन तथा निर्देशनमा नाटकको रूपमा मञ्चन भएको 'पानीफोटो'मा आधारित रहेर फिल्म बनाइएको हो। लेखन तथा अभिनयबाट आफ्नो परिचय बनाएका खगेन्द्रले पानीफोटो मार्फत  फिल्म निर्देशनमा पनि हात हालेका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले मल्टिप्लेक्समा १२ देखि २० प्रतिशतसम्म शो पाएको छ। 

द्वन्द्वको बेलामा हराएको छोराको पर्खाइमा रहेका बाबु आमाको कथा फिल्ममा देखाइएको छ। फिल्ममा निर्देशक खगेन्द्र सहित अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

त्यस्तै, हिन्दी फिल्म 'एक भिलेन रिटर्न्स' सबैभन्दा धेरै २५ देखि ४० प्रतिशतसम्मको शो सहित प्रदर्शनमा आएको छ। सन २०१४ मा प्रदर्शनमा आएको 'एक भिलेन'को सिक्वेलको रुपमा 'एक भिलेन रिटर्न्स' बनेको हो। फिल्ममा जोन अब्राहम, अर्जुन कपूर र दिशा पटानीको मुख्य भूमिका रहेको छ। 

यी बाहेक कन्नड फिल्म 'विक्रान्त रोना'ले पनि मल्टिप्लेक्समा २५ देखि ३५ प्रतिशतसम्म शो पाएको छ। झण्डै सय करोड बजेटमा बनेको फिल्ममा सुदिप किच्चा, निरुप भण्डारी, नीता अशोक लगायतका कलाकारको मुखय भूमिका रहेको छ। 

नौ हप्ता सफलताका साथ प्रदर्शन भएको नेपाली फिल्म 'कबड्डी ४' शुक्रबारदेखि भने सबैजसो हलबाट बाहिरिएको छ। त्यस्तै गत हप्ता मात्रै सर्वाधिक शोसहित प्रदर्शनमा आएको बलिउड फिल्म 'शमशेरा' सबै जसो हलमा १० प्रतिशत शोमा खुम्चिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.