|

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।

जंगली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन्।

वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिलबमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्यांकनका आधारमा क्षतिपूर्ति दिँदै आएको छ। 

यस्तै निकुञ्जको संरक्षणकार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ। विनियोजित रकम २८ लाख ८८ हजारमध्ये लक्षित विकास निर्माणका संरचना तयार गराउन २५ लाख २५ हजार रुपैयाँ खर्च भएको र समग्र प्रगति ९१‍.८२ प्रतिशत पूरा भएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.