|

काठमाडौं : नेपालमा डेंगु संक्रमित ११ हजारभन्दा बढी पुगेका छन् भने हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यसरी डेंगु संक्रमण देखिने सबैभन्दा धेरै बाग्मती प्रदेशका रहेका छन्।

बाग्मतीमा हालसम्म ८ हजार ३९० जना डेंगुका बिरामी भेटिएका छन्। लुम्बिनी प्रदेशमा १ हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र  कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।

२ सातामा ६ हजार ४७२ जनालाई डेंगु

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरका अनुसार दुई हप्तामा देशभर ६ हजार ५७२ जना डेंगु संक्रमित थपिएको बताए। उनका अनुसार पछिल्लो समय ललितपुर र काठमाडौंमा संक्रमण बढिरहेको बताए। ‘पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएर प्रकोपकै रूप लिएको छ’‚ उनले भने।

योपटक कडा लक्षणका बिरामी धेरै

हाल अस्पतालमा उपचार गर्न आउने डेंगु संक्रमितको अवस्था हेर्दा यस पटकको संक्रमितमा कडा खालको लक्षण देखिएको बताउँछन्‚ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन।

उनका अनुसार हाल ०७६ सालमा जस्तै डेंगु संक्रमण फैलिए पनि अहिलेका बिरामीमा ७६ सालका भन्दा कडा लक्षण देखिएको छ। लक्षण देखिएको ३/४ दिनमै बिरामीलाई लगातार बान्ता हुने, पखाला लाग्ने कडा लक्षण लिएर अहिले धेरै अस्पताल आउने गरेको उनले बताए।

‘डेंगु त ०७६ सालमा जस्तै देखिएको छ तर त्यस बेलाभन्दा यसपटक कडा लक्षण देखिएको छ, ०७६ सालमा संक्रमण धेरैमा देखिँदा प्रायमा सामान्य खालको लक्षण देखिएको थियो तर यसपटक अस्पतालमा आउने बिरामीको अवस्था हेर्दा प्रायः धेरैमा कडा लक्षण देखिएको छ। धेरैमा निरन्तर बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको बिरामीहरूले बताउनु भएको छ‚’ उनले भने।

हाल लक्षण देखिएर उपचार गर्न आउने बिरामी दुई दिनपछि परिवारका अन्य सदस्यसमेत सोही लक्षण देखिएर आउने गरेको समेत डा. पुनले बताए। ‘अहिले आज एकजना पनि परीक्षण गर्न आउनु भयो भने केही दिनपछि उनै परिवारका अन्य सदस्यहरू समेत डेंगुको कडा लक्षण देखिएर आउनु भएको छ‚’ उनले भने।

हालको मौसमले संक्रमण अझै बढ्न सक्ने समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.