|

काठमाडौं : सरोकारवालाहरूले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन्। मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँच समाजशास्त्रीय दृष्टिकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्राध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताए।

उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे। उनले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरूका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरूले नै दुरुपयोग गरेको उल्लेख गरे। हदम्याद बढाइएका कारण निश्चित मानिसहरू अन्यायमा परेको उनको भनाइ छ।

‘अस्ति भर्खर हामीले देख्यौँ माइतीघरमा बोलिदिएपछि हाम्रो राजनीतिक संरचना त्यसैत्यसै झुकेर हद म्याद बढाइदियो। त्यसले के गर्ने हो त? हदम्यादको कुरा भनेको त क्षमता नभएको, पहुँच नभएको, अवसर प्राप्त नभएकोलाई दिनलाई बोलाउने हो नि। सबै कुराहरूको उहाँले शोषण गर्नुहुन्छ। सबै कुरामा पहुँच छ। सबै कुरामा क्षमता छ। फेरि दुईवर्ष, तीनवर्ष भन्दा के प्राप्त हुन्छ त ? यसलाई वैज्ञानिक गर्नु पर्दैन ? निःशर्त राखिदिने हो ? अनुसन्धान गर्ने बेलामा लिँदाखेरी त्यो कुराको साक्षी वास्तविकता के हो ? यिनी मान्छे जो मुद्दा लिएर आएका छन्। जाहेरी लिएर आएका छन्। यिनको हैसियत के हो?', उनले भने, 'समस्यामा परेका थिए कि ? भोजपुरको सीता राईको मुद्दाबाट आएको विषय हो नि त यो। नाबालिका पेट बोकेर अरबबाट फर्किएको समस्या हो नि त। तर त्यो समस्या अर्कोको पनि त्यस्तै हो कि हैन भनेर हामीले हेरेनौँ, हदम्यादै बढाइदियौँ। विषयको इन्ड हुनुपर्छ। कहिले इन्ड हुने त अब ? यस्तो खालको हामी त्यसै हामफाल्दाखेरी निश्चित प्रकारका मान्छेहरू अन्यायमा पर्न गए र मिसक्यारिज भए भन्ने कुरो यहाँ देखियो।’

उनले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताए। जाहेरी दिएबापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.