सरकारको सम्पर्कमा छैनन् ८ हजारभन्दा बढी संक्रमित

|

काठमाडौं : नेपालमा सन् २०२१ मा ५१० जनाको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा मात्रै ५१० जना व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरेको बताएको हो।

यस्तै केन्द्रका अनुसार हाल नेपालसम्म नेपालमा ३० हजार जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ। हरेक दिन नेपालमा दुईजना व्यक्ति एचआईभी भाइरसबाट सङ्क्रमित हुन्छन्।

यस्तै नेपालमा एचआईभी सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घटेको छ। केन्द्रले सन् २०२१ मा ६८० नयाँ सङ्क्रमित थपिएको अनुमान गरेको छ। यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो।

सोही समयमा ४‚३७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा हाल एचआईभी सङ्क्रमणदर वयस्क जनसङ्ख्याको ०.१२ प्रतिशत रहेको छ।

अहिले नेपालमा करिब ३० हजार संक्रमित रहेको अनुमान छ। तीमध्ये २१‚७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। बाँकी ८‚२७७ जना संक्रमित कहाँ छन्?

संक्रमित उपचारको दायरामा नआएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा बताउँछिन्। ‘हाल करिब २२ हजार संक्रमित हाम्रो सम्पर्कमा रही औषधि खाइरहनु भएको छ तर बाँकी संक्रमित सम्पर्कमा हुनुहुन्न। हामीले उहाँहरूलाई पनि उपचारको दायरामा ल्याउने प्रयास गरिरहेका छौँ’‚ डा. देवकोटाले भनिन्।

एचआईभी संक्रमित भएपछि समाजमा हुने भेदभाव र अन्य सामाजिक विभेदका कारण संक्रमित खुलेर उपचारमा आउन नसक्ने बताइन्छ। सरकारले एड्स २०३० सम्म अन्त्य गर्ने लक्ष्य लिए पनि संक्रमितहरू खुलेर उपचारको पहुँचमा नआउँदा अप्ठ्यारो भएको डा. देवकोटाको भनाइ छ।  

केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात् २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ। जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको थियो। बाँकी रकम भने दातृनिकायले उपलब्ध गराएका हुन्।

सरकारले एचआईभी न्यूनीकरण गर्न प्राथमिकतामा राखेर कार्यक्रमहरू ल्याए पनि यसको नियन्त्रणमा चुनौती रहेको बताइन्छ।

यद्यपि दिगो विकास लक्ष्य सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसका भार (भाइरस लोड) न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ। सरकारले हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराएको छ।

यी हुन् नेपालमा एचआइभीको जोखिम समूह

नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गीहरू र रोजगारीका लागि विदेशिने मानिसहरू। सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरूमा तीन प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको छ। यसैगरी सन् २०१७।२०१८ मा भएको सर्वेक्षण अनुसार महिला यौनकर्मीहरूमा २.२ प्रतिशत र पुरुष समलिङ्गीहरूमा ६.२ प्रतिशतमा सङ्क्रमण देखिएको थियो।केन्द्रका अनुसार प्रदेश १, लुम्बिनी तथा सुदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा रहेका नेपाली कामदारमा एक प्रतिशतभन्दा कममा सङ्क्रमण पाइएको थियो।

यस्तै सन् २०२१ मा  विश्मा १५ लाख नयाँ सङ्क्रमण भएको अनुमान छ। सन् २०२१ मा मात्रै करिब ६ लाख ५० हजार व्यक्ति एड्सका कारण मरेका छन्। विश्वमा दैनिक चार हजार मानिस एचआईभी सङ्क्रमित हुने अनुमान छ।

सन् २०२१ को अन्त्यसम्म आठ करोड ४२ लाख व्यक्ति एचआईभीबाट सङ्क्रमित भइसकेका छन्। सङ्क्रमितमध्ये तीन करोड ८४ लाखमध्ये ७५ प्रतिशत (दुई करोड ८७ लाख) मात्र एन्टीरेट्रोभाईरल (एआरभी) उपचारमा  छन्। सोही समय चार करोड १० लाख सङ्क्रमितको मृत्यु भइसकेको छ। विश्वमा सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित भेटिएका थिए ।

यसका साथै सन् २०२१ अत्यसम्म एशियामा ६० लाखमा एचआईभी भाइरसको सङ्क्रमण पुष्टि भएको अनुमान छ। जसमा कुल एचआईभी सङ्क्रमितमध्ये ६६ प्रतिशत (३९ लाख ६० हजार) उपचाररत छन्। सन् २०२१ मात्रै दुई लाख ६० हजार नयाँ सङ्क्रमण भएको अनुमान छ भने १४ हजार बच्चामा नयाँ सङ्क्रमण भएको अनुमान छ। सोही समयमा एक लाख ४० हजार व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.