|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन्।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को तेह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बजारमा अहिले तरलतामा केही सहज भए पनि पुसमा भने चुनौती आउने चेतावनी दिएका छन्।

तरलता अभाव भनेको ग्राहकलाई आवश्यक परेका वेला बैंक तथा वित्तीय संस्थाले पर्याप्त नगद उपलब्ध गराउन नसक्नु हो।

बैंकमा पैसा जम्मा गर्नेभन्दा ऋण लिन जाने मान्छे बढी हनु हो। बैंकहरूले राष्ट्र बैंकमा आफ्नो कुल निक्षेपको तीन प्रतिशत रकम अनिवार्य नगद मौज्दात राख्नुपर्ने नियम छ।

गभर्नरले तरलताको चुनौती समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको दाबी गरे। गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजारमा पठाएको बताए। राष्ट्र बैंकले आवश्यक काम गरिरहे पनि बजारमा सहजता भने भइनसकेको उनले बताए।

उनले पछिल्ला केही दिनमा रेमिट्यान्समा राम्रो भएकाले अहिले बजारमा तरलताको अभाव कम भएको खुलासा गरे। तरलताको अभाव अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यक्ता हुने व्याख्या गरे। बैंकबाट लगेको ऋण केही न केही कोषमा तिरेको खण्डमा भने बजारमा तरलताको अभाव कम हुने बताए।
उनले आर्थिक क्षेत्रमा भएको विकृतिलाई अप्ठ्यारो वेला सुधार्नु हुँदैन भन्न थाल्ने हो भने अर्थतन्त्रमा सुधार हुन नसक्ने दाबी गरे।

उनले राष्ट्र बैंकले तरलता सहजता कम गर्दासमेत बजारमा सहजता नहुनु भनेको व्यापार घाटा भएको बताए।

उनले भने, ‘बजारमा पुसमा तरलता अभावको हामीलाई चुनौती रहन्छ। क्यालेण्डर अनुसार पुस महिनामा ३० अर्बको इस्यु छ। हामी कसरी तरलताको असरलाई सहज गर्छौं भन्नेमा लागि परेका छौँ।’

पछिल्ला दिनमा रेमिट्यान्समा बढोत्तरी भएकाले सहज भएको छ। लगेको ऋण केही न केही मात्रामा कोषमा तिरे मात्रै तरलता सहज हुने उनको कथन छ। उनले भने‚ ‘बजारमा भएको अनुशासनहीन, आर्थिक क्षेत्रमा भएको विकृतिलाई अप्ठ्यारो वेला सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन। त्यसैले त्यस्ता विकृति समयमै चिर्नुपर्छ।’

गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताए। उनले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.