|

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालत पाटनले बिहीबार आदेश दिएसँगै आज धरौटी रकम बुझाउने र अदालतको कानुनी प्रक्रिया मिलाई थुनामुक्त हुँदै छन्।

शुक्रबार अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढाउनुका साथै जिल्ला अदालत काठमाडौंमा अदालती प्रशाशनिक प्रक्रिया र तारेख बुझ्ने काम सकिएसँगै उनी आजै छुट्ने छन्।

यो सबै प्रक्रिया पूरा गरिसक्न आज करिब २ या साढे दुई बजेसम्म लाग्ने  कानुन व्‍यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन्।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो।

धरौटीमा रिहा भएपछि पनि उनले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ। 

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए। उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो। त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.