|

विराटनगर : प्रदेश १ का तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाएको भन्दै नेकपा एमालेका भ्रातृ संगठनले घनघोर विरोध गरेका थिए।

०७८ माघ १८ गते सोमबार विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध गरेका थिए।

हालै संघीय सत्ता समीकरणअनुसार प्रदेश १ मा एमाले नेता हिक्मतकुमार कार्कीको नेतत्वमा सरकार गठन भएको छ। पुस २५ गते शपथ लिएका मुख्यमन्त्री कार्कीले ७ जनाको मन्त्रिपरिषद गठन गरिसकेका छन् तर मन्त्रालय भने अझै तोकेका छैनन्।

मन्त्रालय तोक्न ढिलाइ हुँदा मन्त्रीहरूका लागि कार्यकक्ष र निवासको सकस भएको छ। यसले गर्दा मन्त्री, पिएसओ र सचिवालयका कर्मचारीहरू दिनको हजारौं खर्चिएर होटलमा बस्नुपरेको छ। होटलको बसाइ मन्त्रीहरूलाई निकै महँगो परिरहेको छ। सभामुखदेखि मन्त्रीसम्म सबै होटलको महँगो बसाइले पिरोलिएका छन्।

बस्नकै लागि दैनिक हजारौँ खर्चनु परेकाले प्रदेश सरकारमाथि आर्थिक भार निकै बढ्ने प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरू बताउँछन्। मन्त्रालय नतोकिदिएको कारणसँगै सुरक्षाका हिसाबले पनि मन्त्रीहरू होटलमा बस्नपर्ने बाध्यता भएको मुख्यमन्त्री कार्यालय श्रोतले बतायो।

श्रोतका अनुसार चाँडै मन्त्रालय टुंगो लगाउने तयारी भइरहेको छ। त्यसो त निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि निवासको समस्या हुँदा हाटखोलामा रहेको राष्ट्रिय वाणिज्य बैंकको क्वार्टरमा बसेका थिए।

केही दिनपछि सरकारी भवन मर्मत गरेर उनी त्यहीँ बस्न थालेका थिए। हालका मुख्यमन्त्री कार्की भने पुरानै डेरामा बस्दै आएको उनको सचिवालयले जनाएको छ।

यस्तो छ होटलमा दैनिक खर्च

विराटनगरस्थित बिग होटलमा बस्दै आएका मन्त्रीहरूले दैनिक १३ हजार रूपैयाँसम्म तिरिरहेको पाइएको छ।

होटलका एक कर्मचारीका अनुसार मन्त्रीहरूका लागि डिलक्स रुम १३ हजार ५ सय रहेको  छ भने मन्त्रीका अंगरक्षक अर्थात पिएसओका लागि  ४ हजार ६ सय देखि ४ हजार ९ सय रूपैयाँसम्म रहेको उनले जानकारी दिइन्।

बिग होटलमै बस्दै आएका मन्त्री भक्ति सिटौलाका पिएसओका लागि ४ हजार ६ सय , तिलकुमार मेन्याङवोको पिएसओ र सचिवालयका  कर्मचारी राख्न २ वटा रुम  रहेका छन्। ती कर्मचारीका अनुसार उनीहरू बस्दै आएको कोठाको ५ हजार ९ सय रहेको छ।

यसैगरी मन्त्री निर्मला लिम्बू र सभामुख बाबुराम गौतमको समेत बास होटलमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.