|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्नसमेत नसक्ने अवस्थामा पुगेको दावी गरेका छन्। 

जनकपुरमा शुक्रबार आयोजित पार्टीको प्रशिक्षणमा उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने ठोकुवा पनि गरे।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्‍याए।

उनले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन‚ राष्ट्रको समस्यातर्फ यसको ध्यान पनि छैन। देखिरहनु भएको छ– गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने? सरकारमा कसरी पुग्ने चिन्ता थियो‚ अब सरकार कसरी टिकाउने‚ कसरी जोगाउने? योभन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन। यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन। सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ। देखिरहनु भएको छ– मन्त्रालयको बाँडफाँडसमेत गर्न नसक्ने अवस्थामा यो पुगिसकेको छ। देशको अर्थतन्त्र एकदम धरापमा परेको छ।

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भिर नभएको आरोपसमेत लगाए। उनले एमालेनिकट अनेरास्ववियुलाई विजयी हुन नदिन सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरेको आरोप पनि लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.