|

नाट्यकर्मी विमल सुवेदीको नाटक ‘डिपार्टेड डन’ ले भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा ३ अवार्ड जितेको छ।

भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डको ४ विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो। जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपालीभाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए।

‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु। यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ,’ निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनिपिएमा मञ्चन हुने भएको छ।’

भारतभरि मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४ सय ९५ वटा नाटकमध्ये छानिएर उत्कृष्ट १० मा परेको थियो। छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए। 

नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेन्डिपिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो।

निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेशन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेशनल स्कुल अफ ड्रामा (एनएसडी) को हलमा मञ्चन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.