|

पर्वत : कुश्मा नगरपालिकाका विभिन्न विद्यालयका बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरू सदरमुकाम कुश्मा बजारको एउटा हलमा थिए। उनीहरू एउटा खेल खेलिरहेका थिए जसमा दौडिएर गएपछि अक्षर र शब्द वा शब्द र चित्रबिच जोडा मिलाएर फर्किनुपर्ने थियो। ‘रन एन्ड म्याच’ नाम राखिएको त्यो खेल बाल कक्षा तथा प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरूलाई उपयुक्त हुने भएकाले विद्यालयमा जानु पूर्व शिक्षकहरूलाई अभ्यास गराइँदै थियो।

त्यही तालिममा सहभागी भएका कोही शिक्षकहरू कैँची समाउने तरीकाको बारेमा सिक्दै थिए त कोहीले हेर्दैमा उड्लान् जसरी बसेका पुतलीहरू कागज काटेर बनाएका थिए। कोही फेरि कागजबाट शब्द पत्ती बनाउँदै लहरै झुण्डयाएर राख्न सिक्दै थिए। साना बाबुनानीहरू रमाई रमाई नाच्न मिल्ने र त्यसैबाट सिकाई पनि हुने गीत पनि लेख्न उनीहरूले सिके। ‘आलु भन्टा स्कुल गए झोला बोकेर, पिँडालुले स्वागत गरे ताली ठोकेर’, ‘काँक्रा र घिरौँलाले भुईँमा बसाए, मूलाजीले कथा भन्दै सबलाई हँसाए’ जस्ता गीतहरूले तरकारीका नाम सम्झिने अभ्यास शिक्षकहरूले नै गर्दै थिए।

परम्परागत शैलीले विद्यार्थीलाई आकर्षण गर्न नसकेको तथा विद्यार्थीको मनोभावना अनुसारको शिक्षण सिकाई हुन नसक्दा उपलब्धि कमजोर भएको अवस्थालाई हेरेर कुश्मा नगरपालिकाले तालिमको आयोजना गरेको थियो। नगरपालिकाले बालबालिकाहरूका लागि तयार पारेको पाठ्यक्रमको प्रवोधिकरण गर्ने र शैक्षिक सामग्री निर्माणमा शिक्षकलाई अग्रसर गराउने गरी कार्यक्रमको आयोजना गरेको थियो।

तालिममा सिकेका कुराहरूले आफूहरूलाई नयाँ ऊर्जा भरेकोले बाल विकास केन्द्रमा आउने बालबालिकाहरूलाई विद्यालय आउन बानी पार्न झनै राम्रा अभ्यास गर्न सकिने सहभागीहरूको विश्वास छ। कालिका मा.वि. खुर्कोटमा कार्यरत लक्ष्मी कुमारी शर्माले कक्षाकोठाको वातावरण अनुसार नै बालबालिकाको मनोविज्ञान तयार हुने भएकाले आफूले त्यस्तै वातावरण निर्माणको प्रयास गर्ने बताइन्।

‘बाल कक्षामा आउने बालबालिकाहरूलाई कसरी खेलाउने र कसरी सिकाउने भन्नेमा यो तालिम निकै प्रभावकारी भएको लाग्यो। बाल विकास केन्द्रमा गएर नयाँ तरीकाले प्रस्तुत हुनका लागि के गर्न सकिन्छ भन्नेबारेमा धेरै सिकेका छौँ’, उनले भनिन, ‘विद्यालय जाऊँ जाऊँ लाग्ने वातावरण तयार भए बालबालिकाहरू घरमा रहनै मान्दैनन्। तर उनीहरूले खोजेको जस्तो वातावरण बनेन भने उनीहरू विद्यालय आउन मान्दैनन्। ३-४ वर्षका बाबुनानीहरूको चाहना अनुसारका खेल, गीत, सामग्री बनाएर उनीहरूलाई मिल्ने वातावरण तयार गर्ने मेरो प्रयास हुने छ।’ दैनिक रूपमा कागज काट्ने, चार्ट पेपरको प्रयोग गर्ने वा एक पटक प्रयोग भएपछि पुनः प्रयोग गर्न नमिल्ने सामग्रीहरूको उपलब्धता भने सहज नहुने उनको भनाइ छ।

शिक्षकहरूमा नयाँ जोस र सीप भर्ने काम गरिन कुश्मा नगरपालिकामै रहेको पञ्चकोशी माध्यमिक विद्यालयकी शिक्षक कविता पौडेलले। प्रशिक्षक प्रशिक्षण लिएर धेरै शिक्षकहरूको माझमा प्रयोगात्मक र रचनात्मक शिक्षणका लागि सहजीकरण गर्दै आएकी उनले कक्षा छिर्दा साथ घोक्न, किताब समाउन वा लेख्न लगाइहाल्ने बानीलाई त्यागेर सामग्रीको माध्यमबाट खेल्दै सिक्दै गर्ने अभ्यास गर्ने बानीको विकास गराउन चुनौतीपूर्ण रहेको बताइन्।

‘पेन्सिल समाउनेमा नै कति सीपहरू छन्, साना कक्षामा शिक्षण गर्ने शिक्षकलाई कागजका सामग्री बनाउन कैँची समात्न पनि सिकाउनुपर्छ। तर नियमित अभ्यास गर्दै गएमा हाम्रा विद्यालयहरू आकर्षक हुन्छन्। सामग्री र प्रयोगात्मक रूपमा सिकेका कुराहरू चिरस्थायी हुन्छन्’, उनी भन्छिन्, ‘मेरो जागिर हो तलब आइहाल्यो भन्ने मानसिकता परिवर्तन गरेर मेरो देशका भविष्यहरूलाई निर्माण गरिरहेको छु भन्ने भावना आउनुपर्छ। जागिर भन्दा पनि जिम्मेवारी बोध गराउनु चुनौतीपूर्ण कुरा हो। बिस्तारै परिवर्तन हुँदै आएको पनि देखिन्छ।’ विगतका तालिमहरूमा शिक्षक सक्रिय नहुने, बहाना गरेर व्यक्तिगत कामका लागि निस्कने बानी भए पनि अहिले त्यस्तो नभएको उनको अनुभव छ।

कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार नगर शिक्षा शाखाले विद्यालयहरूलाई प्रयोगात्मक र मनोवैज्ञानिक शिक्षणका लागि प्रयास गरिरहेको छ। शिक्षणमा भित्रिएका नयाँ प्रविधि र विधिको बारेमा शिक्षकहरूलाई परिचित गराउँदा कक्षा कोठाको पुरानो शैलीमा केही न केही परिवर्तन आउने उनको विश्वास छ।

‘अहिलेको डिजिटल जमानामा शिक्षकहरू आफै पनि खोजी गर्नुहुन्छ। फेरि पनि बेला बेलामा रिफ्रेस गराउँदा आफ्ना कुराहरू परस्पर शेयर गर्न पनि सहज हुन्छ। एक विद्यालयले गरेका अभ्यास अर्कोमा पनि प्रयोग गर्न सकिन्छ’, सुवेदी भन्छन्, ‘यसरी पढाउनुपर्छ, उसरी पढाउनुपर्छ भनेर शिक्षकलाई निर्देशन दिनुभन्दा पनि प्रशिक्षकले आफै पढाएर देखाउँदा सिकाई छिटो हुन्छ। अहिलेको तालिममा सिकेका कुराहरू कक्षाकोठामा प्रयोग गर्दा धेरै परिवर्तन आउने छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.