|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको विरोधमा विभिन्न संघस्थाले आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।

यस जघन्य कार्यले अन्तरराष्ट्रिय जगतमा नेपालको छवि ध्वस्त पारेको तथा आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको नेपालसहित युरोपमा रहेका विभिन्न संघसंस्थाले ठहर गरेका छन्।

अमेरिकामा रहेको भुटनिज कम्युनिटी अफ सेन्ट्रल ओहायो, बेलायतमा रहेको भुटनिज वेलफेयर एसोसिएसन (युके),नेदरल्याण्डमा रहेको ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान, अष्ट्रेलियामा रहेको साउदर्न तस्मनिया इंक, अमेरिकाकै भुटनिज कम्युनिटी अफ लेक्सिंगटन, केन्टकी, भुटानी क्यानेडियन एसोसिएसन (क्यानडा), न्युजिल्याण्डको भुटानी समुदाय तथा नेपालमा रहेको भुटानी अध्येता नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस विषयमा छानबिन गरी अपराधमा संलग्न प्रभावशाली व्यक्तिहरूलाई कारबाही गरेकोमा नेपाल सरकारको प्रशंसासमेत गरेको छ।

यस प्रकरणमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध रहेकोसमेत उनीहरुको ठहर छ। 

कथित व्यक्तिहरूले नियोजित षड्यन्त्र गर्दै रिजालको छवि धमिलो पार्न खोजेको भन्दै रिजालमाथि मात्रै दोष थोपरेर शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च रचेको देखिएको विज्ञप्तिमा उल्लेख छ।

शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय भएकोसमेत उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्। रिजालको स्वास्थ्य नाजुक रहेको र भुटानी जेलबाट रिहा भएदेखि मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेका रिजालको अविलम्ब रिहाइको मागसमेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.