|
फाइल फोटो

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार टिकाउने प्रयासस्वरूप प्रदेश सभाका ज्येष्ठ सदस्यलाई मन्त्री नियुक्त गरेका छन्।

थापाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै कांग्रेसका प्रदेशसभा सदस्य गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन्।

मण्डललाई अहिले केहीबेरमा पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए। बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा गराएको सत्ता गठबन्धनले विश्वासको मत लिने वेलामा सम्भावित जोखिम कम गर्न ज्येष्ठ सदस्यलाई मन्त्री बनाएको हो। 

एमालेले पनि उपसभामुखलाई राजीनामा गराउनसक्ने र त्यसो हुँदा मण्डलले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने हुँदा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री थापाले मण्डललाई मन्त्री नियुक्त गरेका हुन्।

मण्डलपछिका ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन्। तर एमालेले उपसभामुखलाई राजीनामा गराएर मुख्य मन्त्रीले विश्वासको मत लिने दिन ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने चर्चा पनि छ। सर्वोच्च अदालतकोे आदेशपछि दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेका थिए।

त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए। कांग्रेस संसदीय दलका उपनेता कार्कीले विश्वासको मत लिएपछि मात्रै मन्त्री नियुक्त गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.