|

भक्तपुर : मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चार रात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरव नाचको शुरु भएको छ । 

मध्यपुरथिमि नगरपालिका–६ स्थित चपाचो द्यः छेंःबाट शुरु भएको भैरव नाच चपाचो नास द्यः गणेश मन्दिर प्राङ्गण, गार्चा गणेश मन्दिर अगाडि, थामद्यः, गुङ्ग चिवा अगाडि र पछाडि, कुतिं चिवाः, हात्ती महाँकाल, दिगु टोल, इना लाछी, लायकु, दतलय, मरुटोल, बालकुमारी पछाडि, बालकुमारी अगाडि, बालकुमारी भैलः द्यः अगाडि, दिगु टोल भैल द्यः अगाडि, दिगु टोल नारांद्य, कृचि तिवा, कुम्हाननी, तुलंननी, नासननी, चपाचो, जंलाननी, चपाचो द्यः छेंमा शुक्रबार रातभर नाच प्रदर्शन गरिएको हो ।

तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दाङ्गी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले रातभर नाच प्रदर्शन गरेका हुन् । नाचमा धांः बाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रवधान रहेको छ ।

प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रूपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास छ । 

आर्थिक अभावकै कारण मध्यपुरमा लोप भइसकेको यो जात्रालाई स्थानीय बासिन्दाले विगत केही वर्षयता पुनः सञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रा सञ्चालन गर्न एक महिनादेखि तयारी गरिएको थियो भने १५ दिन अगाडिदेखि देवगण बन्नेले तान्त्रिक विधिअनुसार नाच सिकेका थिए ।

बोडेमा नीलबाराही नाच शुरु

मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच शुक्रबार मध्यरातिदेखि सुरु भएको छ ।

बोडे सहरमा भव्यरूपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छें अर्थात् देवता घरबाट सुरु भई शनिबार बिहान करिब ११ः०० बजेसम्म देवगण शहरको विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.