|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन्।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्र उकास्न कुनै कदम चाल्नुभन्दा पनि सत्ता टिकाउने कुरामा मात्रै सरकारको ध्यान रहेको अध्यक्ष ओलीको जिकिर थियो।

मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरसंवादमा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरू फुर्सद नै नभएको बताए।

ओलीले भने, ‘अहिलेको अवस्थामा सामान्य हिसाबले हुने स्थिति छैन। यसको खास उपचार नगर्ने हो भने अब जरैदेखि रोग लागेको छ। अर्थतन्त्र बलियो हुन उत्पादन बढ्नुपर्ने हो। निर्यातका लागि उत्पादन बढ्नुपर्छ। त्यसका निम्ति के कदम चालिएको छ?’

नाजुक अवस्थामा पुगेको अर्थतन्त्र उकास्न सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने चिन्ता लागेको बताए। मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नभएको उनले दाबी समेत गरे।

उनले भने, ‘सरकार कसरी टिकाउने भन्नेमा ध्यान छ। म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीसँग पटकपटक अन्तरसंवाद गरेको छु। यत्तिकै २०७६ सालमा ७.१ प्रतिशत पुगेको होइन। आयात घटेको थियो, निर्यात बढेको थियो। म प्रधानमन्त्री हुँदा नौ लाख मानिसहरूको जीवनमा परिवर्तन आएको थियो। निरपेक्ष गरिबीको रेखामुनिबाट माथि उठेका थिए। बाहिर जाने श्रमशक्ति १८ प्रतिशत घटेको थियो। मान्छेहरूले आफ्नो व्यवसाय गर्न थालेका थिए।’

अध्यक्ष ओलीले व्यवसायीहरूका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिए। त्यसैगरी उनले व्यवसायीहरूसँग चर्को ब्याज नलिन नेपाल राष्ट्रबैंकलाई सचेत गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.