|

सर्लाही : केही दिनको अविरल वर्षाका कारण बाटाहरु क्षतविक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका नागरिक कष्टकर जीवन जिउन बाध्य छन्।  

वर्षाले लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीनगर पालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने  बाटो क्षतविक्षत भएकाले एक बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयवासीले गुनासो गरेका छन्।

जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौँ गाउँका स्थानीय पैदल हिँड्न सकिने अवस्था भए पनि मोटरसाइकल, जीप, बस लगायतका सवारीसाधन भने चल्ने अवस्था नरहेको त्यस क्षेत्रका स्थानीय चिन्ता व्‍यक्त गरेका छन्।

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न भने ट्याक्टरबाट मुस्किलले ढुवानी भइरहेको लालबन्दी– १३ नारायण खोलाका वडाध्यक्ष शिवकृष्ण बैद्यले जानकारी दिए।

अब पानी पर्न रोकिए बाटोमर्मत सम्भार गरी जसोतसो दशैँसम्ममा यातायतका साधन चल्नसक्ने बताए। सडक सञ्जालनै नजोडिएको सर्लाहीको लालबन्दी नगरपालिका १२-१३-१४ नम्बर बडामा पाँच महिनादेखि यातायातका साधन नचल्दा त्यस क्षेत्रका बासिन्दा कष्टकर जीवन जिउन बाध्य भएका छन्।

लखन्देही र बाहुनी खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गएको जेठ महिनादेखि  यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।

खोलामा पानी कम भएको बेला व्‍यवसायीहरुले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्।

यात्रुबाहक बस भने जेठ देखि नै पूर्णरुपमा ठप्प भएको हो। दशैँ नजिकिरहेका बेला वर्षाले बाटो बिगारेपछि चुरेवासीको यस बर्षको दशै खल्लो हुने हो कि भन्ने चिन्ता भइरहेका लालबन्दी १४ नारायण खोलाका स्थानीय पूर्ण लुंगेली बताउँछन्।

नारायण खोलाबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारसम्म आउन ६-७ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।

पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु, अटो लगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको लुंगेलीले बताए। चुरे भेगमा दिनहुँजसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्नका लागि पत्थरकोटसम्म पैदल हिँडेर आउनसमेत समस्या भइरहेको उनले गुनासो गरे।

निरन्तर झरी परिरहेकोले बिधार्थीलाइ स्कुल आउजाउ गर्न समेत समस्या भइरहेको लालबन्दी १२ भालुखोप प्राथमिक विद्यालयका प्रधानाध्यापक हरि गुर्मछान मगरले बताए। उनका अनुसार बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउनसमेत गाह्रो परिरहेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.