|

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन्।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका-६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सु.प.प्र ०२००३ प ७१७९ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंक स्याउले चोक बस्ने ४८ वर्षीय पदम बहादुर कार्कीलाई लागूऔषध चरेश ९२ ग्राम ४२ मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले कार्कीले आफ्नै घरमा संचालन गरेको होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज तलासी गर्दा विभिन्न स्थानहरुमा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१ बालुवाघाटबाट लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ मालिकाटोल बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ तपलाइन बस्ने २८ वर्षीय विकास सेरबुजालाई लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम, नगद २१ हजार रूपैयाँ र मोबाइल १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

बर्दिया, बाँसगढी नगरपालिका-८ पिसिओ चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ। इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ मिलिग्रामसहित सोही गाउँपालिका-७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्क डेरा गरी बस्ने भारत बिहार घर बताउने १९ वर्षीय प्रियन्सु कुमार मण्डल, भारत जोगवनी घर बताउने १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमलाई लागूऔषध ब्राउनसुगर १४ ग्राम ३ सय २० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। उनीहरूले लागूऔषध प्रयोग गरिरहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-८ गरामनीबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २५ वर्षीय प्रतिक राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा मे.३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले मोटरसाइकल चालक राईले नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो।

बाँके, बैजनाथ गाउँपालिका-६ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका-८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प २०२२ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

सबै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.