|

सल्यान : लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि सल्यानको त्रिवेणी गाउँपालिका १ खज्जरका स्थानीयवासी हर्षित छन्। पानीको खोजीमा दुई घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै यहाँका स्थानीयवासीमा खुशी छाएको हो । 

लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएको स्थानीय लीला रोकाले खुशी व्यक्त गरिन्। ‘यहाँका महिलाले वर्षौँदेखि २ घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे’, उनले भनिन्, ‘अहिले एक घर, एक धारा निर्माण भएपछि समस्याबाट मुक्ति पाइयो।’

५२ वर्षीय पूर्णबहादुर वलीले पानी नहुँदा मान्छे, बस्तुभाउका साथै दैनिक काममा असहजता उत्पन हुने गरेको बताए। बालबालिका पधेरोमा पानी लिन जाँदा पढाइ नै छुट्थ्यो । उनले भने ‘पानी अभावका कारण केही स्थानीय बसाइसराइ गरी दाङतिर झरिसकेका छन्।’ गाउँपालिकाबाट खानेपानीको आपूर्ति भएसँगै अब समस्या समाधान भएको उनको भनाइ छ।

त्रिवेणी गाउँपालिका सल्यानले ५०० मिटरको उचाइबाट दुई स्थानमा लिफ्टबाट पानी पुर्‍याएपछि ५३ घरधुरीका करिब २४५ जना लाभान्वित भएका छन्। पालिकाले ‘एक घर एक धारासहित गौरवको आयोजना एक करोड १९ लाख १९ हजार २८० रुपैयाँ लागतमा  लिफ्ट प्रविधिबाट पानी पुर्‍याएको हो।

नागरिकको मुख्य समस्या पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिबाट घरघरमा पानी पुर्‍याउन थालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिए।

आयोजना २०८० साल वैशाख ३ गते तरुण निर्माण सेवा छत्रेश्वरी २ सल्यानसँग सम्झौता भएकोमा २०८० माघ ८ मा सम्पन्न भएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.