|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्।

बिहीवार २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरेको बताए। 

उनले अन्तर्राष्ट्रिय दातृ राष्ट्र र संघसंस्थाहरुको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी सथानीयवासीलाई विकासको नयाँ प्रतिफल दिलाउन प्रयास गरिरहेको बताए। 

उनले सो अवसरमा नेपाल सरकारले २०६८ सालमा गठन गरेको वृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क पुगी तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनसँग वृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि गम्भीर छलफल गरेको स्मरण गरे।

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको प्रधानमन्त्रीले बताए। 

लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.