काठमाडौँ : ई-स्पोर्ट्स संघ नेपाल (इसान) को आयोजनामा इसान एशियन पब्जी च्याम्पियनशिप आगामी वैशाखको तेस्रो साता हुने भएको छ।
कुल १३ राष्ट्रका टोलीले प्रतिष्पर्धा गर्ने इसान एशियन पब्जी च्याम्पियनशिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो।
आइतवार पत्रकार सम्मेलनमार्फत ई-स्पोर्ट्स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए।
उक्त प्रतियोगितामा नेपालका ३ टोली डिआरएस, होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले खेल्ने भएका छन्।
मलेशिया, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिष्पर्धा गर्ने भएका छन्।
बिग ब्राकेट्स ई-स्पोर्ट्सले च्याम्पियनशिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ। आयोजकले प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ।
प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए।
उनले ई-स्पोर्ट्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एशियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए।
अध्यक्ष धमलाले भर्चुअल एरिनामा एशियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।