|
www.amazingauthentictreks.com

काठमाडौं : तपाईंसँग क्रेडिट कार्ड छ? यदि छ भने कार्डका विवरणहरु अरुलाई नदेखाउनुहोला। 

काठमाडौंमा चार महिनादेखि यसरी नै अरुको क्रेडिट कार्डको डिटेलको आधारमा अनलाइन पेमेन्ट गरेर ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो। बाग्लुङको गलकोट घर भई बालाजुस्थित बाग्लुङ प्याराडाइज होटल एण्ड रेष्टुरेन्टमा बस्दै आएका ३२ वर्षिय तेजिन्द्र केसी उप्रेतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो।   

उनले गत जेठ महिनादेखि पटक पटक गरेर हिमालयन बैंकबाट अनलाइन पेमेन्टको सुविधा लिदै जापानी नागरिकको क्रेडिट कार्डबाट सामान खरिद गर्दै आएका थिए। सामान खरिद गरेपछि उनले क्रेडिट कार्डको नम्बर हालेर पेमेन्ट गर्ने गर्थे। 

यसरी गरे ठगी

सामसुङ, हुवावे र लेनोभो ब्राण्डका मंहगो मोवाइलहरु अनलाइनबाट खरिद गर्ने गर्थे, तेजिन्द्रले। अनलाइन खरिद गरेपछि उनले जापानी नागरिकको क्रेडिट कार्डको नम्बरलगायतका डिटेलहरु भाइबरमार्फत पठाउने गर्थे। त्यही कार्ड डिटेलको प्रयोग गरेर तेजिन्द्रले किनेको मोबाइलको अनलाइन पेमेन्ट हुन्थ्यो।

प्रहरीका अनुसार उनले जापान पठाइदिन्छु भनी बिभिन्न व्यक्तिहरुबाट रकम पनि उठाउने गर्थे। त्यसरी उठाएको रकम उनी मंहगो मोबाइल दिएर रकम तिर्दै आएका थिए। सापट लिने व्यक्तिहरुलाई न्युटेरिक नेपाल प्रालिको न्युरोड शाखामा मोबाइल लिन पठाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। त्यसरी किनिएको मोबाइलहरु सस्तोमा उनले बेच्दै आएका थिए। 

तेजिन्द्रलाई जापानमा बस्ने साथीले जापानी नागरिकको क्रेडिट कार्डको डिटेल दिएका थिए। उनलाई काठमाडौंको वुद्धनगरबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कहिलेदेखि शुरु भयो ?

करिब तीन वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरोले यस्तै अभियोगमा तीन जनालाई पक्राउ परेपछि नेपालमा पनि क्रेडिट कार्डबाट ठगी हुने गरेको पत्ता लगाएको थियो। बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको सहयोगमा ललितपुरका केवलप्रताप राणा, काठमाडौंका नरेशकुमार अग्रवाल र सल्यानका वीरबहादुर बोहोरालाई पक्राउ ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो।

नेपालमा बस्दै आएका नाइजेरियाका नागरिकसँग मिलेर उनीहरूले क्रेडिट कार्डबाट ठगी गरेका थिए। अर्कैको एटिएमबाट सामान खरिद गर्दै आएका दुई युवालाई पनि एक महिनाअघि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले पोखरा लेकसाइडका डिपार्टमेन्ट स्टोर, रेष्टुरेन्ट र होटलमा अर्कैको एटीएम कार्डबाट पैसा तिर्दै आएका विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर खाँडलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.