|

काठमाडौं : काठमाडौंको डिल्लीबजारस्थित सनराईज पार्कमा मृत अवस्थामा फेला परेका क्षितिज लामिछानेको मृत्युको कारणबारे अझै खुलेको छैन। ४० वर्षीय लामिछाने शनिबार दिउँसो लिफ्टको माथि मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले लामिछानेको मृत्युको कारणबारे अझै नखुलिसकेको बताएको छ। ‘पोस्टमार्टम रिपोर्ट पनि आइनसकेको र उनीसँग सम्वन्धित मानिसहरुसँग सोधपुछ गरिरहेका छौ, तर कुनै निष्कर्ष आइसकेको छैन’, महानगरीय प्रहरी बृत्त, कमलपोखरीका प्रमुख डिएसपी माधव थापाले भने– ‘हामीले सिसिटिभीको पनि हेर्यौं तर त्यस्तो सुराक केही भेटेका छैनौं।’

सिसिटिभीको भिडियोमा उनी भित्र जानको लागि लिफ्टमा चढ्न खोजेको तर लिफ्ट नचलेपछि भर्याङबाटै नौ तल्ला माथि रहेको रेष्टुरेन्ट गएको, त्यहाँ पार्टीमा रमाइलो गरेको दृश्यहरु मात्र भएको पनि उनले जानकारी दिए।  

त्यस भवनका सुरक्षागार्ड कृष्णबहादुर सुनुवारले पनि साँढे ११ बजे ट्याक्सीमा लामिछाने आएको जानकारी दिए। ‘दुई जना आएका थिए, उहाँ चाँही माथि जानुभयो, अर्कोसँगै आउने साथी ट्याक्सीमा नै फर्कनुभयो’, सुरक्षागार्ड सुनुवारले भने– ‘उहाँ निक्कै हतारमा हुनुहुन्थ्यो, केही नबोली सरासर माथि जानुभएको थियो।’

प्रहरीले लामिछाने आफन्त, साथीहरु र पार्टीमा रहेकाहरुसँग सोधपुछ गरिरहेको भएपनि कुनै सुराक पाउन सकेको छैन। नुवाकोट तुप्चे घर भएका लामिछाने नयाँ बजारमा बस्दै आएका थिए। उनी पेशाले इन्जिनियर हुन्।

शुक्रबार रेष्टुरेन्ट गएका लामिछानेको शनिबार दिउँसो तीन बजे लिफ्ट नचलेपछि हेर्न लाँदा शव फेला परेको थियो। भवनका सुरक्षा गार्डले लिफ्टको माथि शब देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.