|
www.hotpati.com

काठमाडौं : गैरकानुनी रुपले काठमाडौंभित्र हुण्डीको कारोबार गर्ने आठ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक करोड ७२ लाख रुपैयाँसहित काठमाडौंका बिभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले बिभिन्न उद्योग सञ्चालन गरी हुण्डीको काम गर्दै आएका तीन जना र कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

प्रहरीले भारत राजस्थान घर भई न्युरोडस्थित अनु ट्रेडिङका सञ्चालक पवनकुमार अग्रवाल (सरावगी), सिरहा बरियापट्टि घर भई प्युखास्थित विन्देश्वरी ब्याग एण्ड रेडिमेट उद्योगका सञ्चालक गोविन्दमान श्रेष्ठ, झापा शनिअर्जुन घर भई माई पाथिभरा ट्रेडर्सका सञ्चालक निर्दोष प्रसाईलाई पक्राउ गरेको छ।

सरावगीबाट ६३ लाख ५० हजार रुपैयाँ, श्रेष्ठबाट १० लाख नेपाली र एक लाख भारतीय रुपैयाँ तथा बिभिन्न बैंकका ४९ वटा चेकहरु र प्रसाईबाट १० वटा चेकसहित १९ लाख ७१ हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको छ।

यसैगरी कारोबारमा संलग्न नुवाकोट चौघडाका कुमार राई, सिन्धुपाल्चोक बाह्रविसेका राजन पौडेल, रामेछाप प्रितीका टलबहादुर तामाङ, झापा राजगढका अमित खरेल र झापा दमकका रोहित दुलाललाई समेत प्रहरीले पक्राउ गरेको छ।

राईबाट १८ लाख, पौडेलबाट ३२ लाख ५० हजार, तामाङबाट ११ लाख ५० हजार, खरेलबाट १२ लाख र दुलालबाट पाँच लाख १६ हजार रुपैयाँ बरामद गरेको छ। 
उनीहरुलाई थप कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको पनि एसएसपी खनालले जानकारी दिए।

प्रहरीले यसअघि पनि मनि चेन्जर, मनि ट्रान्सफर र ट्राभल एजेन्सीको नाममा हुण्डी कारोबार गर्नेहरुलाई पक्राउ गरेको थियो। न्युरोड, दरबारमार्ग, ठमेललगायतका क्षेत्रमा प्रहरीले छापा मारेर २० भन्दा बढी हुण्डी कारोबारीलाई पक्राउ गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.