|

कालिकोट : कर्णालीका उच्च हिमाली भेगका मानिसहरु हुम्ला, जुम्ला र मुगुका स्थानीय चिसो छल्न बेँसीतिर झर्न थालेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गरेर उनीहरु चिसो छल्न बेसीँतिर झरेका हुन्।

कर्णालीका उच्च हिमाली भेकमा हिउँ पर्ने जाडो हुने हुँदा त्यहाँका स्थानीयहरु जाडो छल्न आफ्ना वस्तुभाउसहित औलतिर झरेका छन्।

बसाइँसराइका क्रममा जुम्ला हुम्ला र मुगुका हिमाली बस्तीका मानिसहरु भेडा, च्यांग्रा, खच्चड र गाईगोरु लिएर कालिकोट हुँदै दक्षिणी अछाम र दैलेखमा जाने हुम्लाका तातोपानी गाउँपालिकाका कम्बर रोकायाले बताए। ‘हिमालमा हिउँ पर्छ, जाडो हुन्छ, भेडा र वस्तुभाउ चराउन ग्राहो हुन्छ।’ उनले भने, ‘त्यसैले सधँैका वर्षझैँ जाडो छल्न हामी औलमा झर्ने गरेका छौं।’

हिमाली बस्तीका जनजातिहरु र अन्य समुदाय वर्षको चार महिना उत्तरी भेगमा पर्ने चीनतिर जाने गर्दछन् भने चिसो लागेपछि बेँसी झर्ने गर्ने गरेको मुगु खत्याड गाउँपालिका नरबहादुर कार्कीले बताए। ‘वर्षायाममा भेडा च्यांग्रासहित उत्तरी चीनमा जाने गरेका छौं।’ उनले भने,‘अहिले भने चिसो छल्न दक्षिणको अछाम र दैलेखमा जान लागेका छौं।’

त्यस्तै, हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगरका बासिन्दा पनि जाडो छल्न भेडा, च्यांग्र्रा, घोडा, खच्चड गाई, गोरु ल्याएर बेँसीतिर झरेका हुम्लाका नरबहादुर शाहीले बताए। ‘हुम्लाका धेरै मानिसहरु जाडो छल्न औलमा झरेका छन्।’ उनले भने,‘औलमा झरेपछि व्यापार पनि हुने जाडो पनि छलिने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.