|
www.drishtinews.com

काठमाडौं : 'डन' दीपक मनाङेलाई कम सजाय दिनको लागि मुद्दा फितलो बनाइएको छ। प्रहरीले संगठित अपराध र शरिर बन्धकको मुद्दा पेश गरेपनि सरकारी वकिलले भने संगठित अपराध हटाई शरिर बन्धकको मात्र मुद्दा दर्ता गरेको छ।

संगठित अपराधमा जुन कसुर लागेको हो त्यसको सजायका साथै थप ५० प्रतिशत सजाय भोग्नुपर्दछ। मनाङेलाई लागेको कसुर शरिर बन्धकमा दोषी ठहरिए सात देखि १५ वर्षको जेल सजाय र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। संगठित अपराधको मुद्दा हटाइएपछि मनाङेले ५० प्रतिशत सजाय भोग्न नपर्ने गरी मुद्दा दर्ता गरिएको हो। 

प्रहरीले पटक-पटक म्याद थप गरी ६० दिनसम्म हिरासतमा राखेर सोमबार मनाङेलाई अदालतमा पेश गरेको थियो। प्रहरीले भने बमोजिमको मुद्दा दर्ता नभई फितलो रुपमा सरकारी वकिलको कार्यालयले मनाङे र उनका सहयोगीलाई फरक मुद्दा दर्ता गरेको छ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार ध्रुव उप्रेतीले मनाङेविरुद्वको अभियोगपत्रमा शरीरबन्धक तथा अपहरण उद्योगको कारवाही माग सरकारी वकिलले गरेको जानकारी दिए। 

यता, काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा मनाङेविरुद्ध सम्पूर्ण प्रमाणसहित संगठित अपराध र शरीर बन्धकको मुद्दा पठाएको तर सरकारी वकिलले के गरे अचम्ममा परेको बताउँछन्। ‘संगठित अपराधको मुद्दा बाटोमै हरायो’, उनले भने– ‘नछुटाउनुपर्ने हो, किन छुटाए बुझ्न सकेको छैन।’

मनाङेसँगै प्रहरीले राजनकुमार सिंहलाई समेत पक्राउ गरेको थियो, उनलाई पनि सोमबार नै अदालत पेश गरिएको थियो। मनाङेसंगै सुशील मनाङे, ज्याक गूरुङ र शनि गुरुङलाई प्रहरीको फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाएको एसएसपी थापाले बताए। 

२०७३ असार १६ गते मनाङेलाई समूहका दुई सहयोगीका साथ प्रहरीले पक्राउ गरेको थियो। गुण्डागर्दीको उजुरीका आधारमा मनाङेलाई पक्राउ गरिएको थियो।

को हुन् मनाङे?

सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका मनाङे ठमेल क्षेत्रका गुण्डाका नाइकेको रुपमा चर्चित छन्। मनाङेलाई सम्पत्ति शुद्धिकरण विभागले गुण्डागर्दीमार्फत १४ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति जोडेको भन्दै मुद्दा दायर गरेको थियो। दुई दशकदेखि मनाङेले ठमेल क्षेत्र वरपरलाई पकड बनाएर गुण्डागर्दी गर्दै आएका छन्। 

उनी राजनीतिक संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएका थिए भने पछिल्लो समय उनी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा लागेका थिए। पार्टीका उनी केन्द्रीय उपाध्यक्ष हुन्। उनी पार्टीका नेता चन्द्रनारायण थारुलाई कुटपिट गरेको अभियोगमा समेत पक्राउ परेका थिए। 

उपत्यकाभित्र विभिन्न व्यापारी, हाउजिङ कम्पनी सञ्चालक, ठेकेदार तथा विभिन्न व्यवसायीबाट जबर्जस्ती रकम माग गर्ने, असुल गर्ने र माग गरेको रकम नपाएको खण्डमा परिवारसमेतलाई अपहरण गर्ने र ज्यानसमेत लिनेजस्ता धम्की दिने मनाङे भारतमा जन्मिएर उतै हुर्किएका हुन्।

ठमेलमा डिस्को खोलेर व्यापारमा प्रवेश गरेलगत्तै उनी आपराधिक गतिविधिमा पनि संलग्न मनाङेले सहयोगी उमेश लामाको फर्ममार्फत दरबारमार्ग प्रहरीको भवन समेत निर्माण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.