|

काठमाडौं : ठगी मुद्दामा अभियुक्त  व्यक्तिबाट रकम लिने दुई प्रहरीलाई प्रहरीले ठगी मुद्दा दर्ता गरेको छ। प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) निर्मलप्रसाद ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई बुधबार ठगी मुद्दा दर्ता गरेको हो। 

उनीहरुले वैदेशिक रोजगार ठगी सम्बन्धी घटनामा मुछिएका भुपाल गिरीबाट एक लाख रुपैयाँ लिएका थिए। उनीहरुलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्दा दोषी देखिएपछि मुद्दा दर्ता गरेको परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। 

उनीहरुलाई कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएपनि आयोगले भ्रष्टाचारको मुद्दा नभएको भन्दै फिर्ता पठाएपछि परिसरले नै ठगी मुद्दा दर्ता गरी कारबाही अघि बढाएको हो। 

अनुसन्धानमा वैदेशिक रोजगारीका एजेन्ट सुनिल राईमार्फत सई ज्ञवालीले ६० हजार तथा जवान खड्काले ४० हजार रुपैयाँ लिएको खुलेको थियो।  

घटना के भएको थियो?

वैदेशिक रोजगारीका लागि कुवेत गएकी सुनीता तामाङले कुवेतमा काम नपाएपछि स्वदेश फर्किएकी थिइन्। तामाङले नेपाल आएपछि आफूलाई विदेश पठाउने भूपाल गिरीविरुद्ध उजुरी दिएकी थिइन्। 

त्यसपछि प्रहरीले गिरीलाई पक्राउ गर्‍यो। उनीविरुद्ध मानव बेचबिखन मुद्दा चल्ने डर देखाउँदै सुनीता राई, पशुपति राई र विनोद तामाङले मुद्दा मिलाइदिने भन्दै २० लाख रुपैयाँ लिएका थिए। 

त्यसमध्ये एक लाख रुपैयाँ दुई प्रहरीले बाँडेर लिएका हुन्। सो रकमबाट पीडित तामाङलाई भने करिब पाँच लाख रुपैयाँ दिइएको थियो। बाँकी राई दम्पतिले लिएका थिए। राईले पछि फेरि गिरीलाई ५० लाख माग्दै ब्ल्याकमेलिङ गरेपछि तामाङले प्रहरीका वरिष्ठ अधिकारीसमक्ष पुगेका थिए।  

प्रहरीले पैसा लिएको उजुरी परेपछि महानगरीय प्रहरी आयुक्त कार्यालयले डिआइजी मिङमार लामाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिनका क्रममा प्रहरीले पैसा लिएको खुलेपछि उनीहरूलाई निलम्बन गरिएको थियो।  

तामाङ भारत हुँदै दुई महिनाअघि कुवेत पुगेकी थिइन्। तर, उनी गर्भवती रहेको थाहा भएपछि त्यहाँका मालिकले उनलाई काम दिन अस्वीकार गरेको थियो। त्यसपछि एजेन्टले नै उनलाई स्वदेश फर्काएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.