|

धनुषा: आफ्नै खेतमा फलेको धानलाई 'दुरा'मा सुकाइरहेकी भुट्टी देवीलाई कुटान पिसान कहाँ गएर गर्ने भने चिन्ताले सताएको छ। विगत चार दिनदेखि घामको छनक नपाएकी उनी बिहीबार घाम उदाएसँगै आफ्नो सानो दुरामा घरिघरि धानलाई उल्टाउँदै पल्टाउँदै थिइन्। कुटाउने कहाँ, फेरि त्यहाँ जानेवित्तिकै बिजुलीको लाइन छ कि छैन, कति भीडभाड होला भन्ने नानाथरिका चिन्ताले उनलाई सताएका हो।

त्यसै ठाउँमा फाटेका लुगालाई टाल्दै गरेका उनका श्रीमान् गोखुल यादवको पिरलो भने अलिक फरक छ। खेतमा लगाएको गहुँ कसरी पटाउने तथा कसरी छर्कने भन्ने पिरलो छ उनलाई।  

यिनै र यस्तै समस्याबाट कमलामाई नगरपालिकाका आधा दर्जन गाउँ टोलका मानिसहरू आजित छन्। उनीहरू सबैको समस्याको जरो एउटै छ– पोल छ, तार छ, तर लाइन जडान भएको छैन। यसरी साविकको लक्कड गाविसमा पर्ने वडाहरू ७ र ८ अन्तर्गतका तथा अहिले वडा नं. ५ र ६ मा पर्ने टरिया, मडान, सखुवा, हथमुण्डा, सिग्याही, जगराहा, जागिरलगायतका गाउँ टोलमा अझै पनि बिजुली पुगेको छैन।

खेतबारीमा काम गरी फर्केका किसानहरूले भने, 'पोल गाडेको पाँच वर्ष भइसक्यो, चुनावको बेलामा यो गाउँमा जून तारा नै झार्ने वाचा नेताहरू गर्छन् तर अहिलेसम्म त्यो वाचा पूरा भएको छैन।' उनीहरूको भनाइ थियो, 'लाइनको व्यवस्था भएको भए खेती गर्न सजिलो हुन्थ्यो।' उनीहरूकै कुरामा जोड्दै उमेरले ५० वर्ष कटिसकेका कामेश्वर यादवले भने, 'हामी अँध्यारोमा बस्दा पारि गाउँमा उज्यालो हेर्दा हाम्रो दिन कहिल्यै फिर्ने हो कुन्नि?'

वरिपरिका प्रायजसो गाउँमा बिजुली धपक्कै बल्दा यस गाउँमा भने टुकी र लालटिनको मलिनो उज्यालोले चलिरहेको छ। 'यही नै हो हाम्रो जिन्दगी क्यारे! र त हामी पिछडिएका गाउँलेको रूपमा अहिले पनि चिनिन्छौँ', फाटेको लुगा टाल्दै गरेका गोखुललाई सह्य भएन र भने। यो गाउँमा एउटै घरमा पनि टेलिभिजन सञ्चालनमा छैनन्। विदेशबाट ल्याइएका टेलिभिजनहरू घरमा त्यतिकै थन्किएको बताउँदै उनले थपे, 'मेसिनरी सामान भएको हुनाले विश्वकर्मा पूजाको दिन मात्रै टेलिभिजनलाई धूप आरति देखाइन्छ।' 

मोबाइल सेटहरू पारिको गाउँबाट धेरै नै हार गुहार गरेर चार्ज गर्नुपर्ने बाध्यता रहेको बताउँदै सोही गाउँका नवीनकुमार यादवले भने, 'हुने खाने एकाध जनाले सानो सोलार राखे पनि उनीहरूलाई आफैँदेखि भ्याई नभ्याई हुन्छ, त्यसैले मोबाइल चार्ज गर्नु पनि निकै नै कष्टकर कुरा हो।' असारमा भ्यागुताको ट्वारट्वार स्वर सुनेदेखि दशैँको ढोल बजुन्जेलसम्म कमलाको कहरले आक्रान्त बनेका यी गाउँलेको जीवन कहालीलाग्दो भएको महिनौँ भयो। अँध्यारो रात काट्न विवश भएको बताउँछन् स्थानीयहरू।  

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सबै पार्टीका नेताले सडक बनाइदिन्छु, बिजुली ल्याइदिन्छु, कमलाको तटबन्ध तथा पुल बनाइदिन्छु भन्दै नानाभाँतीले भोट मागेका सम्झिँदै घाम ढल्किँदै जाँदा सुक्न लागेको धान मौनीमा उठाउँदै गरेकी भुट्टीले भनिन्, 'बिजुली कहिले आउँछ, त्योचाहिँ थाहा भएन तर चुनावताका बिजुली ल्याइदिने ती नेताहरू भने पक्कै फर्केर आउँदैनन्।'

खेतीपाती तथा वैदेशिक रोजगारी नै मुख्य पेसा रहेको २५० घरधुरी भएको टरिया टोलमा कमला नदीको ताण्डव तथा बिजुली, सडक तथा सिँचाइको खासै सुविधा नभएकाले वर्सेनि यहाँबाट बसाइँसराइ गर्नेहरूको संख्या पनि कम्ती छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.