मिर्गौलाका बिरामीका लागि बजेटै आएन

|

काठमाडौं : अघिल्लो देउवा सरकारले क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका बिरामी र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई जीविकोपार्जनका लागि दिने भनिएको मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय स्वरूप गत माघ ११ गते वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कार्यक्रमको सुरुवात गरेका  थिए।

वीर अस्पतालमा उपचारतर क्यान्सरका ११ जना, ट्रमा सेन्टरमा उपचारत स्पाइनल इन्जुरीका छ जना र मिर्गौलाको उपचार गराइरहेका बिरामीलाई पाँच हजार रुपैयाँ दिएर कार्यक्रमको सुरुवात गरिएको थियो।

तर सुरुवात गरेको दुई महिना पुग्न लाग्दा हालसम्म सोही दिन भत्ता पाएका बिरामीले बाहेक अन्य बिरामीले उक्त भत्ता पाएका छैनन्।

जीविकोपार्जन भत्ता वितरणमा समन्वय गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका फोकल पर्सन प्रकाश घिमिरेले हालसम्म बिरामीहरूको लगत मात्र लिने काम भएको तर कुनै पनि बिरामीलाई भत्ता वितरण नगरिएको बताए। उनले भने, 'हाल अस्पतालमा भएका बिरामीहरूको संख्या मात्र संकलन गर्ने काम भइरहेको छ, भत्ता त अझसम्म दिइएको छैन।'

हालसम्म काठमाडौंका वीर, टिचिङ, हरिसिद्धि क्यान्सर अस्पताललगायतका १२ वटा अस्पतालहरूमा उपचार गराइरहेका क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका करिब दुई हजार जनाको तथ्यांक लिइएको उनले बताए। उनले भने, 'हालसम्म हामीले विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका करिब दुई हजार जना बिरामीहरूको विवरण संकलन गरेका छौँ।'

मिर्गौलाका बिरामीको लागि बजेटै आएन

क्यान्सर, मिर्गौलाको रोगको कारण डायलाइसिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने कार्यविधि भए पनि अर्थ मन्त्रालयले पठाएको बजेटको अख्तियारीमा भने क्यान्सर र स्पाइनल इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीका लागि मात्रै भत्ता उपलब्ध गराउने उल्लेख गरेपछि आफूहरूलाई अप्ठ्यारो परेको फोकल पर्सन घिमिरेले बताए।

उनले भने, 'हामीले बनाएको कार्यविधि र सरकारको निर्णयअनुसार मिर्गौला रोगका बिरामीलाई पनि जीवन निर्वाह भन्ता दिने निर्णय भए पनि अर्थ मन्त्रालयले पठाएको बजेट अख्तियारीमा भने मिर्गौलाका बिरामीलाई भत्ता उपलब्ध गराउने भन्ने कुरा छैन, यसले पनि हामीलाई अप्ठ्यारो पारिरहेको छ।'

सरकारले तीन रोगका बिरामीलाई जीविकोपार्जन भत्ता स्वरूप मासिक पाँद्व हजार रुपैयाँ उलब्ध गराउने भन्दै यस आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ छुट्याएको छ। तर बिरामीको तथ्यांक हेर्दा यस आर्थिक वर्षका लागि मात्र कम्तीमा ८० करोड रुपैयाँजति चाहिने घिमिरेले बताए।

तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराको प्रस्तावमा गत पुस १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्यान्सर, मिर्गौला र स्पाइन इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय स्वरूप गत माघ ११ गते उक्त भत्ता वितरणको शुभारम्भ गरिएको थियो।

भत्ता वितरणका लागि चाहिने आर्थिक स्रोत सरकारले सूर्तिजन्य पदार्थको बिक्रीबाट आउने करबाट लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.