|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे सांसदहरुनै सशंकित देखिएका छन्। शुक्रबार संसदमा महाभियोगको सैद्धान्तिक छलफलमा भाग लिने सांसदले प्रस्ताव पारित हुनेमा शंका व्यक्त गरेका हुन्।

महाभियोग प्रस्तावमा सैद्धान्तिक छलफल लम्बिनु र महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि पारितमा ढिलाई हुनुले पनि सांसदहरुको शंकालाई मलजल गरेको हो।

शुक्रबार महाभियोग प्रस्ताव माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महाभियोग प्रस्ताव पारित हुनेमा शंका व्यक्त गरे। 'संसदमा महत्वपूर्ण प्रस्तावमा छलफल भइरहेको छ यो पारित कसरी हुन्छ हेर्न बाँकी छ,' केसीले भने।

उनले लोकमानसिंह कार्कीलाई कारबाही गर्न नसके दलहरुले मुलुकमा केही गर्न नकस्ने बताए। 'लोकमानसिंह कार्कीलाई कारबाही गर्न सकेनौं भने हामी यो मुलुकमा सिन्को पनि भाँच्न सक्दैनौं,' चेतावनीपूर्ण भाषामा केसीले भने,' संसद मच्चियो मच्चियो थच्चियो नहोस्।'

कांग्रेसका सांसदले पनि महाभियोग पारित प्रक्रिया भइरहेको ढिलाइबारे असन्तुष्टि जनाएका छन्। एमाले र माओवादी केन्द्र मिलेर दर्ता गरेको महाभियोग प्रस्ताव पारित गर्ने वा नगर्ने विषयमा कांग्रेसभित्रै अन्यौल भइरहेका बेला महाभियोग पारित गर्ने विषयमा तीन दल एकमत हुनुपर्ने सांसद धनराज गुरुङले बताए।

उनले लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन नहुनेमा संसदमा ध्यानाकर्षण गराए। 'महाभियोग अब जनताको एजेण्डा बनिसकेको छ। लोकमानसिंह कार्कीलाई संसदले उन्मुक्ति दिनुहुँदैन,' गुरुङले भने।

संसदमा बोल्दै एमालेका सांसद पुरुषोतम पौडेलले संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्नु संसदको दायित्व भएकाले कामकारबाहीमा ढिलाइ गर्न नहुने बताए। 'संवैधानिक पदमा रहेर विधिको शासन उल्लंघन गर्नेलाई संवैधानिक व्यवस्था अनुसार कारबाही गर्नु संसदको दायित्व हो कारबाहीमा ढिलाइ गर्नुहुँदैन,पौडेलले भने, 'सर्वसम्मतिले प्रस्ताव पारित गर्नुपर्छ।'

लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रियामा संसदमा आलटाल

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित प्रक्रिया ढिलाइ नगर्न भन्दै संयुक्त विद्यार्थी संगठनले सभामुख ओनसरी घर्तीको पटकपटक ध्यानकर्षण गराए। सभामुख घर्तीले कात्तिक ९ गते महाभियोग प्रस्ताव माथि सैद्धान्तिक छलफल अघि बढाइन् त्यस दिन १५ जना सांसदले आफ्नो धारणा राखेपछि सभामुख घर्तीले तिहार तथा छठपर्वको कारण देखाउँदै बैठक कात्तिक २५ गतेसम्म स्थगित गरेकी थिइन्।

प्रमुख राजनीतिक दलका सचेतक सदस्य रहने कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई बैठक स्थगित गर्ने सल्लाह दिएको थियो। कात्तिक २५ गते फाल्गुनन्द जयन्तिको कारणले बैठक बस्न सकेन। शुक्रबार बसेको संसद बैठकमा महाभियोग प्रस्ताव थिको सैद्धान्तिक छलफलले निरन्तरता पायो, बैठकमा १७ जनाले भाग लिए।

संसद बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ। संसद बैठक जति अवरुद्ध हुन्छ लोकानसिंह कार्कीको महाभियोग प्रस्तावमाथिको सैद्धान्तिक छलफल पनि उत्तिकै लम्बिन्छ। यसले पनि विभिन्न आशंका उब्जाएको छ। महाभियोग पारित हुने विषयमा कुनै शंका नगर्न महभियोग प्रस्तावका समर्थक भानुभक्त ढकाल बताउँछन्। 'संसद बैठक स्थगित हुँदा विभिन्न शंका उत्पन्न हुने गरेको छ। प्रस्तावमा बोल्न चाहाने सबैलाई बोल्न दिनुपर्छ,ढकालले भने, 'सैद्धान्तिक छलफल सकिएपछ महाभियोग सिफारिस समितिमा जान्छ यसमा कुनै शंका नगरौं।'

सभामुख ओनसरी घर्ती मंसिर ४ गतेबाट रुसको भ्रमणमा जाँदैछिन्। यसकारण पनि संसद बैठक केहीदिन स्थगित हुनेछ। तर सभामुखका प्रेस सल्लाहकार बबिन शर्मा सभामुखले छलफल सकाएर रुस भ्रमणमा जाने प्रयत्न गरिरहेको बताउँछन्।' महाभियोग प्रस्तावको सैद्धान्तिक छलफल सकेर भ्रमणमा निस्कने सभामुखको तयारी छ,' शर्माले थाहाखबरसँग भने।

सैद्धान्तिक छलफल नसकिँदा सिफारिस समिति फुर्सदमा

११ सदस्यीय महाभियोग सिफारिस समिति यतिबेला फुर्सदमा छ। संसदमा सैद्धान्तिक छलफल नसकिँदासम्म समितिले  कार्कीविरुद्धको महाभियोगमा अनुसन्धान अघि बढाउन सक्दैन। समितिले कात्तिक ११ गते महाभियोग प्रस्तावमा छानविन गर्नका लागि आन्तरिक कार्यविधि तय गरेको थियो।

पटकपटक बैठक बस्दा समेत समितिले आफ्नो कार्यविधि पारित गर्न सकेको छैन। शुक्रबार बसेको समितिको बैठकले पनि आफ्नो कार्यविधि पारित गर्न सकेन। कांग्रेसका सांसदले कार्यविधि अपूरो रहेको र छलफलको आवश्यक रहेको बताएपछि समितिले कार्यविधि पारित गर्न सकेन।

संसदमा सैद्धान्तिक छलफल नसकिएसम्म कार्यविधि पारितमा कुनै हतारो नरहेको समिति सदस्य रामनारायण विडारी बताउँछन्। 'हामीले अनुसन्धान गर्ने कार्यविधि तयार गरिसकेका छौँ, संसदले छलफल नसकेसम्म हामीले अनुसन्धान अघि बढाउन सक्दैनौं। त्यहीभएर कार्यविधि पारितमा समितिलाई कुनै हतारो छैन,' कार्यविधि तयार गर्ने उपसमितिका संयोजक विडारीले भने।

महाभियोग प्रस्तावमा बोल्न चाहने सांसद सबैलाई सभामुखले बोल्नका लागि समय दिनुपर्छ। कात्तिक ९ गते ५३ जना सांसदले नाम लेखाएका थिए। ती मध्ये ३२ जनाले सैद्धान्तिक छलफलमा सहभागी जनाएका छन्। संसद बैठक २९ गतेसम्मका लागि स्थगित गरिएको छ। मंसिर ४ गते सभामुख घर्ती रुस जाने कार्यक्रम छ। त्यसअघि सैद्धान्तिक छलफल सकिने निश्चित छैन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.