|

कालीकोट : कर्णाली राजमार्गमा साना खोलाहरु बाधक बन्ने गरेका छन्। राजमार्गको विभिन्न स्थानमा रहेका खोलाहरु वर्षायाममा पानी पर्न बित्तिकै बढ्ने भएकाले यातायातका साधन सञ्चालनमा समस्या हुँदै आएको छ।

दैलेखमा रहेका घट्टेखोला कालीकोटमा रहेका दैखोला, एसमोड, सेरीघाट खोला, सुनारखोला, बिहानी खोला, गगनेखोला, कालेखोला र खल्लागाड खोलाले पानी पर्नबित्तिकै अवरोध गर्दछ।

सानो पानी पर्दा पनि खोलामा बाढी आउने र केही स्थानमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने गरेको छ। 

कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पानी पर्ना साथ पहिरो जाने गरेको छ भने कालेखोला, खाँडाचक्र नगरपालिका–२ को सुनारखोलामा पानी पर्दा साथ हिलो हुने भएकाले सवारी साधन रोकिने गरेका छन्।

कालीकोटको तिलागुफा नगरपालिका–६ को खल्लागाड खोलामा बाढीका कारण सडक सधैंजसो सडक अवरुद्ध हुने गर्दछ। खोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेपछि वर्षासँगै खोलामा आएकोे बाढीले सास्ती दिने गरेका यातायात व्यावसायी हस्तबहादुर बमले गुनासो पोखे। ‘पुल बन्न लागेको चार वर्ष भयो,’ उनले भने, ‘अहिलेसम्म पनि पुल बन्न सकेको छैन। यातायात साधन सधैं यसै खोलामा जाममा पर्छन्।’

दहीखोला र घट्टेखोलामा पनि सवारीसाधन हप्तौंसम्म खोलामा थन्किने गरेको खाँडाचक्र नगरपालिका–१ वडाध्यक्ष गणेशबहादुर शाहीले बताए। ‘खोलामा भएका ठाउँमा अवरोध हटाउने गरी डिजाइन नगर्दा समस्या आएको छ,’ उनले भने, ‘यी खोलाहरुमा पुल नबन्दा समस्या भएको छ। त्यसलाई हल गर्न माथिल्लो निकायले चासो दिनु पर्ने देखिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.