काठमाडौं : भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ। बिहीबार सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा रात...
काठमाडौं : टेकुदेखि कालीमाटी जोड्ने विष्णुमती खोलाको पुल दुई वर्षदेखि अलपत्र छ। पप्पु कन्स्ट्रक्सनले बनाएको यो पुल गुणस्तरहीन रहेको भेटिएपनि न भत्काइएको छ, न त सवारीसाधन आवतजावत गर्न नै दिएको छ।
पुल अहिले सवारी पार्किङ र फोहोर राख्ने थलो बनेको छ। पप्पुले २०७५ भदौमै निर्माण सकेको बताएपनि विवादका कारण सरकारले बुझ्न अस्वीकार गरेको छ।
२०७५ साल चैतमा पूर्व भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएकोले पुल भत्काउनुपर्ने बताएका थिए।
सडक डिभिजन कार्यालय काठमाडौंले पनि २०७६ साउनमै ठेक्का मापदण्ड विपरित पुल निर्माण गरिएको भन्दै भत्काएर नयाँ बनाउन ठेकेदारलाई निर्देशन दिएको थियो। तर, पप्पुले अहिलेसम्म भत्काएर नयाँ पुल बनाएको छैन।
पप्पु कन्स्ट्रक्सन निलम्बित सांसद हरिनारायण रौनियार उर्फ पप्पुको हो। देशैभर विकास निर्माणका ठेक्का हात पार्ने, तर गुणस्तरहीन निर्माण र काममा ढिलाई गर्ने गरेका कारण पप्पु कन्स्ट्रक्सन बदनाम छ।
यसरी भयो विवाद
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको तत्कालिन दिगो शहरी विकास आयोजनाले करिब २० करोड रुपैयाँ लागतमा २०७१ असारमा पुल निर्माण ठेक्का लगाएको थियो। ६० मिटर लामो पुल निर्माण गरी २०७४ मंसिरमा सम्पन्न गर्ने ठेक्का सम्झौतामा उल्लेख थियो।
तर, कम्पनीले एक वर्ष ढिला गरी विवादबीच नै काम सम्पन्न गरेको थियो। पुल बनेपछि झण्डै एक वर्ष विवादकै बीच निर्वाध रूपले सवारीसाधन सञ्चालनमा आएपनि सरकारले २०७६ असारमा सवारीसाधन आगमन ठप्प पारेको थियाे।
परामर्शदाताले गुणस्तरहीन सामग्री प्रयोग गरेर पुल निर्माण भएको र यसमा गाडी गुड्ने अनुमति नदिन डिभिजन सडकलाई पत्र काटेपछि विवाद सतहमा आएको थियो।
अदालतको निर्णय कुर्दै
डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले टेकु पुलको विषय जिल्ला अदालतमै कानुनी प्रकृयामा रहेको र अदालतले निर्णय गरेपछि मात्रै भत्काउने वा सञ्चालनमा ल्याउने भन्ने थाहा हुने बताए।
उनले भने, ‘पुल निर्माण गुणस्तरहीन भएन। यो विषय जिल्ला अदालतमा कानुनी उपचारका क्रममा छ, अदालतले छिनोफानो गरेपछि मात्रै के गर्ने भन्नेबारे निर्णय हुन्छ।’
ठेक्का सम्झौता गर्दा वारि र पारी पुललाई जोड्न तीनवटा पिलर बनाउने, नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउनेगरी डिजाइन पास भएको थियो। पुलको छत ढलानमा १५.२ एमएमको टुचन (तार) राख्नुपर्ने थियो।
त्यसमा भारतको उसामार्टिन र टाटा कम्पनीको तार प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ। तर, सम्झौता अनुसार काम नभएपछि ७० वर्ष आयु हुने पुल १० वर्षमै भत्किने निष्कर्ष डिभिजन कार्यालय काठमाडौंले निकालेको छ।
परामर्शदाता कम्पनीले पनि यो पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको र निर्माण सामग्रीहरुको ल्याब टेस्ट नगरिएको रिपोर्ट सडक विभागलाई दिएको छ।
पुल जोडेको पप्पु कन्स्ट्रक्सनले १३ करोड २० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।