समाज

सहकारीबाट ऋण लिएर ३१ किसानले गरे गाईपालन

फाइल फोटो
जेठ ३०, २०७५
    • तोलाकान्त बगाले 

वालिङ : स्याङ्जाको भरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिक रूपमा गाई पालन गर्दै आएका छन्। भिरकोट–१ बयरघारीमा रहेको एक सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत ४० लाख रुपैयाँ धितो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन्। 

'संस्थामा आबद्ध ३१ जना शेयर सदस्यले जर्सी र होलिस्टिन जातका गरी १११ वटा गाई पाल्दै आएका छन्', शुभलक्ष्मी बचत तथा ऋण सहकारीका प्रबन्धक लेखबहादुर केसीले भने, 'हाल किसानले पाल्दै आएका गाईबाट दैनिक ६५० लिटर दूध उत्पादन हुँदै आएको छ।' 

किसानले उत्पादन गरेको दूधलाई सहकारीले घरघरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाएको छ। यहाँ उत्पादन भएको दूधमध्ये ५० लिटर स्थानीय बयरघारी बजारमा खपत हुने गरेको छ भने ६०० लिटर दूध फिस्टेल डेरी पोखरासँग प्रतिलिटर ४७ रुपैयाँ सम्झौतामा पोखरा लैजाने व्यवस्था मिलाएको सहकारीले जनाएको छ। 

संकलित दूध संकलनका लागि बयरघारी बजार नजिकै एक हजार लिटरको एउटा र पाँच\पाँच सय लिटरका दुई गरी दुई हजार लिटरका चिस्यान केन्द्र स्थापना गरिएको छ। 'सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर शेयर सदस्यका लागि आयस्तर वृद्धि गर्ने संस्थाको उद्देश्य हो', प्रबन्धक केसीले भने, 'भीरकोट तथा यस क्षेत्रलाई दूधको पकेट क्षेत्रको रूपमा स्थापित गराउन हामी निरन्तर लागिरहेका छौँ।' 

दुई वर्षदेखि संस्थाले यो अभियान चालेको र समूहमार्फत कर्जा प्रवाह गर्दै आएको संस्थाले एकजना शेयर सदस्यलाई बढीमा बिनाधितो पाँच वटासम्म गाई खरिदका लागि पाँच लाख रुपैयाँ लगानी गर्दै आएका छन्। 

सहकारीले समूहमार्फत लगानी गरी खरिद गरिएका गाईको सुरक्षाका लागि बीमा कम्पनी र किसानबीच सहजीकरणको भूमिका खेल्दै आएको छ। सहकारीले गाईका लागि आवश्यक पर्ने गुणस्तरीय दाना, चोकरको व्यवस्था गरी किसानको घरदैलोमा पुर्‍याई सहयोग गर्दै आएको छ। 

दुई वर्षअघि सहकारी संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिएर गाई पाल्दै आउनुभएकी भिरकोट–६ ठाडाहटिया सिमलचौरकी कमला गोदारले अहिले सातवटा गाई पालेका छन्। 

जर्सी र होलिस्टिन जातका गाईको क्रसबाट जन्मेका गाई पालेकी आएकी गोदारले हाल दैनिक ३३ लिटर दूध बिक्री गर्दै आएकी छिन्। 'अहिले गाईहरु ब्याउने अवस्थाका छन्।' महिला पशु व्यवसायी गोदारले भने, 'कुनै बेला दैनिक ४५ लिटरसम्म दूध बिक्री गरेकी थिएँ।' सबै खर्च कटाएर मासिक २५ हजार रुपैयाँ बढी बचत गर्दै आएकी गोदार यो पेशाबाट सन्तुष्ट छिन्।

विदेशबाट बिदामा घर आएका बेला गाई पालन गर्ने सोच बनाएर गाईपालन व्यवसाय थालेका भिरकोट–१ हेकडाँडाका लक्ष्मण केसीको फर्ममा अहिले पाँच वटा जर्सी गाई छन्। 'विदेशी भूमिको गर्मीमा श्रम गरेर पसिना बगाउनभन्दा आफ्नै परिवारसँगै बसेर व्यावसायिक रूपमा गाई पाल्ने सोच बनाएँ', केसीले भने, 'विदेशमा कमाउने पैसा स्वदेशमै काम गरेर कमाउन सकेकोमा म यो पेशाबाट सन्तुष्ट छु।' 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]