समाज

बराहक्षेत्रमा हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पूरा

चैत ६, २०७५

    काठमाडौं : आगामी चैत्र २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म एक महिनासम्म बराहक्षेत्र चतराधाममा सञ्चालन हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बुधबार महाकुम्भमेला आयोजक समिति बराहक्षेत्र–१, कुम्भनगरी, चतराधाम, सुनसरीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी गराएको हो।

    रिपोर्टर्स क्लबमा कुम्भ मेला आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका प्रथम जगद्गुरु एवं पिण्डेश्वर कुम्भमेलाका अन्वेषक श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले मेलाको अवसरमा पबित्र कौशिकी गंगामा हुने विशेष कुम्भ स्नानमा सहभागी भई कुम्भ स्नान गर्न सम्पुर्ण भक्तजनहरुमा अनुरोध गरेका छन्।

    समुन्द्र मन्थनपछि प्राप्त अमृत पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरि स्वयं भगवान् विष्णुले नेपालको चतराधामस्थित् कोशी किनारमा शुरु गरेको कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगेपछि शास्त्रीय प्रमाणको आधारमा नेपालका प्रथम जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले २०५९ सालदेखि पुनः शुरु गरेका हुन्।

    २०५९ सालमा प्रथमपटक सञ्चालन भएको कुम्भमेलामै  करिब  २० लाख श्रद्धालुले कुम्भ स्नान गरेपछि क्रमशः अर्ध कुम्भ मेलामा २०६३/६४ र दोश्रो पुर्ण महाकुम्भ मेला २०७०/७१ सम्म आइपुग्दा एक महिनाको मेला अवधिमा करिब डेढ करोड धार्मिक पर्यटकको आवगमन भएको कुरा तत्कालिन् १२ वर्ष पूर्ण कुम्भ मेला सञ्चालनार्थ नेपाल सरकारबाट तोकिएका केन्द्रीय पदाधिकारी तथा तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाद्वारा लिखित कुम्भ स्मारिकामा उल्लेख गरिएको छ।

    बराहक्षेत्र समाजका अध्यक्ष अमर थापाको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा जगद्गुरुले भने, ‘नेपाल आमाको अस्टधातुको ७५ फुट अग्लो मूर्ति निर्माणमा नेपालका ७७ जिल्लाका जनतालाई सहभागी बनाउने उद्देश्यले आफूले ३ वर्ष लगाएर नेपालको पैदल भ्रमण सम्पन्न  गर्दा ७७ जिल्ला कै नेपालीलाई कुम्भको निमन्त्रणा पुगिसकेको र यसपटक पुनः ७ वटै प्रदेशको मुख्यमन्त्रीहरूलाई निमन्त्रणा दिइसकेको हुनाले कुम्भ मेलामा ७७ वटै जिल्लाका जनता र प्रदेश प्रमुखसमेत कुम्भ स्नानमा आउने विश्वास लिईएको छ।’

    नेपालका राष्ट्रपति प्रधानमन्त्रीदेखि लिएर सम्पूर्ण सामान्य श्रद्धालुमात्र नभई विदेशबाटसमेत सहभागिता रहेको कुम्भमेलाले आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धनमा ठूलो महत्व राख्ने आयोजकले दाबी गरेको छ।

    आफूहरूको कुम्भमेलाबाट सम्पत्ति बटुल्ने र पैसा कुम्ल्याउने उद्देश्य नभएको पनि उनले जिकिर गरे। उनले भने, ‘नेपाल सबै सुखहरूको शिखर स्थान हो। त्यसैले यो कुम्भमेलामा घरद्दघरबाट, गाउँ/गाउँबाट, नगर–नगरबाट मानव समुन्द्र पुग्नुपर्छ।’

    उक्त कुम्भमेलाको लागि सरकारले अहिले कुनै चासो नदेखाएको र सहयोग नगरेको उनले गुनासा पोखे। यद्यपि उनले बराहक्षेत्रवासी हतोत्साही नभएको सुनाए। उनले भने, ‘कुम्भमेला भव्य र सभ्य हुन्छ।’

    विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त कुम्भ मेलामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरे। त्यस्तै, विश्व हिन्दू परिषदका अध्यक्ष देवराज अधिकारीले यो कुम्भ मेलाले धागोको काम गर्ने सुनाए। उनले भने, ‘वैदिक सनातन धर्मको संरक्षण गर्नुपर्छ, यो मेलामा सम्पूर्ण देशभक्तहरूको भेला हुनुपर्छ।’

    रेडियो नेपालका पूर्वनिर्देशक तथा धार्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटाले उक्त कुम्भमेला आफूहरूको लागि मात्रै नभएर सम्पूर्ण नेपालीहरूको भएको सुनाए। उनले भने, ‘कुम्भमेलामा गएर ऊर्जावान बनौँ, हामी सबैले उदार दृष्टि राख्नुपर्छ। भेद दृष्टि राख्नुहुँदैन्।’

    प्रथम जगतगुरु पीठ चतराधामका अध्यक्ष टीकादत्त दाहाल, जगतगुरु सन्देश पत्रिकाका प्रधान–सम्पादक शम्भु निरौला (दुर्गम) ले पनि मेलामा सहभागी हुन सबैलाई आग्रह गरे। मेलामा स्वदेश तथा विदेशबाट करिब ३ करोड भक्तजनले स्थान गर्ने आयोजकले विश्वास लिएको छ। कुम्भ महास्नानको उद्घाटन चैत्र शुक्ल प्रतिपदामा, प्रथम चैत्र शुक्ल पञ्चमी, दोस्रो चैत्र शुक्ल पूर्णिमा, तेस्रो बैशाख कृष्ण औंशी र स्नान समापन बैशाख शुक्ल तृतीयामा हुनेछ।

    कुम्भमेलामा कोटिहोम, वेदपाठ, पुराणवाचन, सामूहिक व्रतबन्ध, स्वदेश तथा विदेशका जगद्गुरु, शंकराचार्यहरू धर्माचार्य एवं चतुक्ष्सम्प्रदायका वैष्णवाचार्यहरुबाट प्रवचन, साहित्यिक कार्यक्रम, झाँकीहरू, भजनकीर्तन, शास्त्रार्थ सम्मेलन पनि हुने आयोजकले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]