राजनीति

पूर्वाधारलाई प्राथमिकता दिँदै गण्डकीको ३२ अर्ब बजेट

असार १, २०७६

    पोखरा : गत जेठ दोस्रो साता गण्डकी सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिँदै आज बजेट ल्याउँदै छ। गत वर्ष विभिन्न महत्वकांक्षी योजनाहरूसहित ल्याएको २४ अर्ब बजेट बढाएर आगामी आर्थिक वर्षको लागि झण्डै ३२ अर्ब रुपैयाँको बजेट ल्याउन लागिएको छ। अहिलेसम्म जम्मा ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँमात्र खर्च गरेको छ। चालु आर्थिक वर्षमा जम्मा २५ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले बढाएर बजेट ल्याउन लागेको हो।

    चालु आर्थिक वर्षमा दुई अर्ब ५४ करोड ६१ लाख रुपैयाँ चालु खर्च र तीन अर्ब ६६ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सफल भएको सरकारले  यसलाई बढाएर असार मसान्तसम्म कुल बजेटको ७० प्रतिशत खर्च हुने बताइरहेको छ।  करको दायरा बढाएर बजेट ल्याउने तयारी भएको अर्थमन्त्री किरण गुरुङ बताउँछन्।  यस वर्षको बजेट पुर्वाधार तथा विकास निर्माण केन्द्रत हुने मन्त्री गुरुङ बताउँछन्। आगामी बजेटमा पर्यटन, पुर्वाधार विकास, ऊर्जा, उद्योग र कृषि सरकारको प्राथमिकता रहने बताइएको छ।

    गत वर्ष पनि यिनै विषयलाई प्राथमिकता दिँदै बजेट ल्याए पनि खर्च हुन सकेको छैन।  चालु आर्थिक वर्षको आयोजना र प्राथमिकताका क्षेत्रमा सरकारले दिएको शर्सत र विशेष अनुदानबाहेक खर्च नभएको रकम पनि आगमी बजेटमा जोडिएर विनियोजन भएर बजेट आउनेछ। राजस्व बाँडफाँटतर्फ सात अर्ब ७० करोड रुपैयाँको अनुमानित रकम संघ सरकारले पठाएको छ भने वित्तीय समानीकरण अनुदान सात अर्ब ११ करोड रुपैयाँ अनुमानित विवरण पठाइएको छ।

    चालु आर्थिक वर्षमा राजस्व बाँडफाँटतर्फ ६ अर्ब ५७ करोड र वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड रुपैयाँ थियो। आगामी आर्थिक वर्षमा अहिलेजस्तो संक्रमण झेल्नु नपर्ने र बजेट खर्च गर्न सक्ने विश्वास अर्थमन्त्री गुरुङको छ। समृद्धिको आधार पर्यटन पूर्वाधार, समृद्धिको लहरः आधुनिक र व्यवस्थित शहर, गुणस्तरीय भौतिक पूर्वाधार: प्रदेश समृद्धिको आधार, विद्युतीय सुशासनः सक्षम, सुदृढ, उत्पादन र उत्पादकत्व वृद्धिः प्रदेशको समृद्धि, प्रदेशको धनः दक्ष जनशक्ति उत्पादन, खेलकुदको सम्मानः प्रदेशको पहिचान प्रदेशको शक्तिः स्वस्थ जनशक्ति लगायतका पुराना कार्यक्रमलाई यस वर्ष पनि नीति तथा कार्यक्रम दोहोर्‍याइसकेको छ।   

    यी हुन् बजेटमा आउने ठूला आयोजना

    सरकारले प्रदेशलाई आर्थिक समृद्धि बनाउनको लागि विभिन्न महत्वकांक्षी आयोजना अघि सारेको छ। बूढीगण्डकी करिडोरमा २३२ केभिय विद्युत् ट्रान्समिसन लाइनको विस्तार, पालुङटारमा औद्योगिक क्षेत्रको स्थापना, शालीग्राम सांस्कृतिक मार्गको निर्माण, पोखरा बुटबल सिद्धार्थ राजमार्गको चार लेनमा स्तरवृद्धि, पोखरा–मुग्लिन पृथ्वीराजमार्गको चार लेनमा स्तरवृद्धि, पोखरा, भीमाद, डेढगाउ, झ्यालबास, दुम्कीबास, त्रिवेणी दू्रतमार्ग निर्माण, तनहुँ हुँदै नवलपुर जाने सडक, कालिगण्डकी करिडोरमा म्याग्दीको दानादेखि मुस्ताङको छुसाङसम्म १३२ केभिय विद्युत ट्रान्समिसन लाइनको विस्तार, मर्स्र्याङ्दी नदी करिडोरमा लमजुङको बेंसीसहरदेखि मनाङको चामेसम्म २३२ केभिए विद्युत् ट्रान्समिसन लाइनको विस्तार गर्न ठूला लगानीकर्ता भित्र्याउने लक्ष्य सरकारको छ।

    चालु आर्थिक वर्षमा बैदेशिक अनुदानमा बजेट नै नराखेको सरकारले मुख्यमन्त्री लगायत मन्त्रीहरुको बैदेशिक भ्रमण पछि बैदेशिक अनुदानमा पनि यस वर्ष बजेट विनियोजन गर्नेछ।  आर्थिक बृद्धिदर वार्षिक २ अंकको बनाउने  गरिबीलाई ७ प्रतिशतमा झार्ने नयाँ बजेटका प्राथमिकतामा परेको मुख्य बुँदाहरू हुन।

    प्रदेशको गरिबी प्रतिशत अहिले १४ रहेको छ। त्यस्तै पर्यटन भित्र्याउने लक्ष्य पनि बजेटको प्राथमिकतामा रहनेछ। नीति तथा कार्यक्रममा आएका योजनाहरूलाई आधार मानेर बजेट आउने र आगामी वर्ष प्रदेशमा विकासको लहर छाउने अर्थमन्त्रीको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]