राजनीति

माउपार्टीको भन्दा कम छैन तरुण दलको भाँडभैलो

फाइल फोटो
पुस ३, २०७६

    काठमाडौं : नेपाली कांग्रेस पार्टी नै आन्तरिक विवादको दलदलमा फसेको छ। उसको भ्रातृसंस्थाहरू पनि माउ पार्टीभन्दा कम छैनन्।  कांग्रेस पार्टीको भ्रातृसंगठनमध्ये बलियो मानिने तरुण दलमा ९५ सदस्यीय समिति रहने प्रावधान छ।

    तर, तीन वर्षअघि गठन भएको तरुण दलको केन्द्रीय कार्य समितिमा जम्मा ४ जना मात्रै छन्। चार सदस्यीय कार्यसमिति रहेको हालको तरुण दलको पनि म्याद गुज्रिसकेको छ। तरुण दलले पार्टीको केन्द्रीय कार्यालयलाई म्याद थप्न पत्र लेखेको थियो। पार्टीको केन्द्रीय समिति बैठकले ६ महिना म्याद थप्ने भनेर प्रस्ताव पनि गरेको छ। 

    अध्यक्ष र महासचिवको जुहारीमा पेलिएको तरुण दल

    २०७६ भदौमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एउटा विज्ञप्ति जारी गरे। विज्ञप्तिमा लेखिएको थियो, ‘तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहनेगरी भुपेन्द्रजंग शाहीलाई हटाइएको जानकारी गराइन्छ।’ 

    लगत्तै महासचिव शाहीले पनि अध्यक्ष बस्नेतलाई तरुण दलबाट हटाएको विज्ञप्ति जारी गरे। शाहीले जारी गरेको विज्ञप्तिमा पनि बस्नेतले लेखेकै जस्तो व्‍यहोहोरा उल्लेख थियो। ‘तरुण दलको अध्यक्ष र कुनै पनि सदस्य नरहने गरी जितजंग बस्नेतलाई कारबाही गरिएको जानकारी गराइन्छ।’ एकअर्कालाई कारबाही गर्न व्‍यस्त अध्यक्ष र महासचिवले पार्टी नेतृत्वलाई तरुणदल विस्तारका लागि पहल नगरेको अरोप लाग्ने गरेको छ। 

    महासचिव शाही तरुण दल भद्रगोल हुनुमा अध्यक्ष जितजंग बस्नेत जिम्बेवार रहेको बताउँछन्।  ‘तरुण दल बिग्रनु भनेको समग्र कांग्रेस अस्तव्‍यस्त हुनु हो। त्यसको परिणाम अहिले देखिएको पनि छ,’ शाहीले थाहाखबरसँग भने, ‘तरुण दलको अध्यक्ष संगठन बनाउनतिर लागेन। खाली नेताको चाकडी गर्‍यो, हनुमानगिरी गर्‍यो अनि उसमा लाज भन्ने हरायो र यो हालत भयो।’ अध्यक्ष जीतजंग बस्नेतले भने फोन उठाएनन्। 

    उपाध्यक्ष उत्तम चापागाईं भने कसैलाई दोष दिन नचाहने बताउँछन्। ‘म कसैलाई दोष दिन्नँ। पोखरा भेलापछि बनेको तरुण दलको लागि निर्देशन समिति अहिलेको हाम्रो पार्टीका सचेतक बालकृष्ण खाँणको नेतृत्वमा बनेको थियो। समितिको बैठक बस्यो कि बसेन थाहा छैन,’ उनले भने, ‘हामीले पार्टीका सभापति, वरिष्ठ नेताहरूको ध्यानाकर्षण गराएकै हो।’ 

    उपाध्यक्ष चापागाईंले अहिलेको कमिटी पूरा गरेर ६ महिनाभित्र अधिवेशन गरी नयाँ कमिटीलाई जिम्बेवारी हस्तान्तरण गर्ने उद्देश्यले म्याद थप गर्न पार्टीलाई निवेदन लेखेको बताए। 

    पार्टी नै गैरजिम्‍मेवार

    महासचिव शाही तरुण दल भद्रगोल हुनुमा अध्यक्ष बस्नेतपछि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा मुख्य जिम्मेवार रहेको बताउँछन्। तरुण दलको नेतृत्वलाई कार्यसमिति विस्तार गर्ने जिम्मा नहुँदा पनि थप समस्या देखिएको हो।

    तरुण दलको नेतृत्वलाई पदाधिकारी बढाउने अधिकार नभएपछि पार्टीले २०७३ मंसिर १ गते पोखरामा भएको सम्मेलनले बालकृष्ण खाँण नेतृत्वको समितिले अर्को बैठकमा अरू पदाधिकारीको नाम टुंग्याउने जिम्म पाएको थियो।

    तर, खाँण नेतृत्वको समितिको बैठक बस्दै बसेन। अहिले तरुण दलको नेतृत्वको कार्यकालसमेत सकिएको अवस्था छ। गत महिनाको २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा तरुण दलको कार्यवधि ६ महिना थप्ने प्रस्ताव भने पेश भइसकेको छ। तर, पार्टीको बैठकसमेत आन्तरिक विवादका कारण बस्न सकिरहेको छैन। 

     चारजना चारै नेता पक्षका 

    नेपाली कांग्रेस पार्टीमा मौलाएको गुटको राजनीति तरुण दलमा पनि देखिन्छ। तरुण दलका चार नेतृत्व पार्टीको चार जना नेता पक्षका हुन्। तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन्। उपाध्यक्ष उत्तम चापागाईं वरिष्ठ नेता कृष्ण प्रसाद सिटौला पक्षका हुन्। महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कोषाध्यक्ष विधान गुरुङ भने बालकृष्ण खाँड पक्षका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]