समाज

बोलीमै सीमित रामायण पार्क, तीन वर्षसम्म डिपिआर मात्रै

जेठ २५, २०७७

    म्याग्दी : पाँच वर्षअघि बेनी नगरपालिकामा एउटा अति महत्वकांक्षी योजनाबारे व्यापक छलफल भयो। सम्भवत: संसारमा नै कहीँ नभएको रामायण पार्क बेनी नगरपालिकामा बनाउने भन्ने विषयले निकै चर्चा पनि पायो। 

    तर स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि बेनीमा रामायण पार्क त के आजकल पार्क बनाउने विषयमा छलफलसमेत हुन सकेको छैन।म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गराउन यो पार्क बनाउने कुरा स्थानीय सरकार आउनुअघि नै चर्चामा थियो। बेनी नगरपालिकाले रामायण पार्क बनाउन गुरुयोजना बनाए पनि त्यो योजनामै सीमित भएको छ।

    नगरपालिकाले ०७४÷०७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा पार्क बनाउन १० लाख बजेट विनियोजनसमेत गरेको थियो। बहुचर्चित योजनाका पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आँपरुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको थियो।

    उक्त स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया बढाएको थियो नगरपालिकाले। ५ वर्षअघि एक समिति गठन गरिएको थियो। त्यो समितिले रावणको जन्मभूमि समेत भनेर चिनने पौलष्य पुलहआश्रम आसपास क्षेत्रमा पार्क बनाउने योजना अगाडि ल्याएको थियो। 

    आन्तरिक तथा भारत र श्रीलकाका हिन्दु धर्मालम्वीलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइए पनि अलपत्र परेको योजनालाई बेनी नगपालिकाले अगाडि बढाउने निर्णय गरेको थियो। तर नगरपालिकाले ०७४÷७५ मा पार्ककोे डिपिआरका लागि ४ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ।

    बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाका अनुसार पार्क बनाउन २ करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डिपिआर तयार पारिएको छ।पार्कका लागि १ करोड ६२ लाख ६ हजार लागत अनुमान डिपिआर गरिएको छ। ‘हामीले योजना बढाउन डिपिआर तयार पारेका छौं,’ उनले भने, ‘दुई वटा पार्क नगरपालिकाले नै निर्माण गर्ने गरी डिपिआर तयार गरिएको हो, तर नगरपालिकाको बजेटले मात्र निर्माण गर्न नसकिने भएपछि, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर निर्माण गर्ने हो। त्यसका लागि सहरी विकास मन्त्रालयसँग समन्वय भएको छ।’

    थापाका अनुसार डिपिआरका लागि विनियोजन गरेको १० लाखमा बाँकी रकम रकामान्तर गरेर अरु योजनामा लगिएको छ। नगरपालिका इन्जिनियर विमलरञ्जन कार्कीका अनुसार उक्त पार्क बनाउने योजना सहरी विकास मन्त्रालयसँग समन्वय गरेर काम अघि बढेको छ।

    उनका अनुसार नगरपालिकाले पार्कका लागि डिपिआर गरेको र सहरी विकास मन्त्रालयले पार्कको लागि पुनः डिपिआर गर्न लागको छ। नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिइएको बताउँदै नगरप्रमुख हरिकुमार श्रेष्ठले हरेक वर्ष बजेट विनियोजन गरे पनि काम अघि बढ्न नसकेको बताएका छन्।

    ‘हामीले रामायण पार्कका लागि हरेक वर्ष बजेट विनियोजन गरेका छौं, तर त्यो अनुसारको काम हुन सकेको छैन, आगामी आर्थिक वर्ष पनि त्यसका लागि बजेट विनियोजन हुन्छ,’ उनले भने, ‘योजना प्रदेश र संघीय सरकारमा पठाएका कारण त्यहाँबाट आउने समपूरक बजेटबाट पनि काम योजना अघि बढ्नेछ।’

    यस्ता पर्यकटीय स्थलहरुमा पूर्वाधार निर्माण गर्नका लागि योजना बनाए पनि बजेट अभावका कारण निर्माण हुन सकेका छैनन्। बेनी नगरपालिका–५ पुलाचौरको पुलाश्रम लंकाको राजा रावणको जन्मस्थान मानिन्छ। पौलस्त्य आश्रम क्षेत्र वरपरिकाका वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ। 

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]