रुकुम : रुकुम पश्चिमका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ। परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले कृषि विकास कार्यालयले हाते ट्याक्टर वितरण गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले बताए।
उनका अनुसार आर्थिक वर्ष ०७६/७७ को यान्त्रीकरण वितरण कार्यविधिअनुसार पकेट तथा व्लक कार्यक्रममा आएको बजेटले २९ वटा हाते ट्याक्टर वितरण गरिएको छ। यसका लागि व्यक्ति तथा फर्मलाई ५०, समूहलाई ६० र सहकारीलाई ७० प्रतिशतमा अनुदान दिइएको शाहको भनाइ छ।
यससँगै कार्यालयमार्फत यस आर्थिक वर्षभर विभिन्न व्यक्ति तथा संस्थालाई ६८ वटा हाते ट्याक्टर वितरण भएका छन्। हाते ट्याक्टरमार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने बताइएको छ। पछिल्लो समय गाउँघरमा भएका युवा समेत विदेश पलायन हुने समस्याले कृषि यान्त्रीकरणका लागि हाते ट्याक्टर नै उपयुक्त हुने बताइएको छ।
रुकुम पश्चिमको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माको भनाइ छ। कृषि विकास कार्यालयले जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजारीकरण पाउन सक्ने किसानहरुको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।