|

  • गोविन्द महतो-

जनकपुरधाम : आधुनिक जनकपुर निर्माणको माग गर्दै विगत १६ दिनदेखि आमरण अनसनमा बसेका बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा लगायत तीन जनाले शुक्रबार अनसन तोडेका छन्।

उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले अनसनरतको माग कार्यान्वयनका लागि तीन दिनभित्र सरोकारवाला मन्त्रालयहरुको सचिव स्तरीय समिति गठन गरी कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनसन तोडिएको हो।

जनकपुरको जनकचोकमा अनसनरत तीनै जनालाई जुस खुवाएर गृहमन्त्री निधिले अनसन तोडाए। मन्त्री निधिले जनकपुरको बृहत्तर विकासको परिकल्पना सकारात्मक भएको बताउदै जनकपुरको निर्माणको लागि आफूले हरसम्भव प्रयास गर्ने बताए। उनले भने 'जनकपुरधाम एउटा धार्मिक एवं ऐतिहासिक नगरि हो, यसको विकास भए यहाँको धर्म संस्कृतिले विश्वमा एउटा आफ्नो छुट्टै पहिचान बनाउँछ। यहाँको मिथिला संस्कृति विश्वमै अलौकिक रहेकाले यसको संरक्षण सम्बर्द्धन तथा पर्यटकीय नगरी जनकपुरको विकासका लागि सरकार तत्पर छ।'

जनकपुरलाई आधुनिक शहरको रुपमा विकसित गर्नपर्ने, जनकपुर अञ्चल अस्पताललाई सुविधा सम्पन्न ५ सय सय्याको बनाउनुपर्ने, बर्षौंदेखि अलपत्र अवस्थामा रहेका मनिपाल शिक्षण अस्पतालको अधुरा काम पुरा गर्नुपर्ने, विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउनुपर्ने लगायतका सात बुँदे माग राख्दै शर्मासँगै कलामुदिन राईन र मिथलेश्वर दास आमरण अनसनमा बसेका थिए।

अनसनकारीको सात वुँदे मागलाई १ महिनाभित्र प्रक्रियामा लग्ने र यथासिघ्र कार्यान्यन गर्ने तथा सोको लागि नेपाल सरकारका सचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहेको ७ सदस्यीय सम्झौता कार्यान्वयन समिति तीनदिन भित्र गठन गर्ने सम्झौता गृहमन्त्री र अनसनकारी बीच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.