५० प्रतिशत बढी भाडा नलिने घोषणा

|

काठमाडौं : यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक बस सञ्चालन गरेका छन्। 

सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए। आइतबार परीक्षण सञ्चालन गरिएको र सामबारदेखि सरकारले तोकेबमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकारीले बताए। 

कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरी एक–एक सिट खाली गरेर यात्रु राख्नुपर्ने र ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था सरकारले गरेको छ। महासंघले भने सरकारले तोकेबमोजिमको मापदण्ड पूरा गर्ने तर बढी भाडा भने नलिइ बस सेवा सुरु गरेको छ। 

अध्यक्ष अधिकारीले सोमबार बिहानैदेखि बस सञ्चालन भइरहेको तर यात्रुको उपस्थिति अत्यन्त कम भएकाले थप अध्ययन गरी कति बस सञ्चालन गर्ने भन्नेबारे छलफल हुने जानकारी दिए। कोरोना भाइरसको महामारीका कारण लामो समय बस सञ्चालन नहुँदा आर्थिक मारमा परेका व्यवसायीहरु नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले आफूहरुका माग सम्बोधन गरेको भन्दै बस सञ्चालनका लागि तयार भएका हुन्। सरकारसँग प्रदेशस्तरमा बस सञ्चालनको अनुमतिका लागि आग्रह गरिएको अध्यक्ष अधिकारीले बताए। 

यसअघि काठमाडौंमा साझा, मयुर, सुन्दर, संयुक्तलगायतका कम्पनीले बस सञ्चालन गरिसकेका छन्। यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि बस सञ्चालनको तयारी गरेको छ। साउन ८ देखि बस सञ्चालनको तयारी भएको र यसबारे १–२ दिनभित्र पत्रकार सम्मेलन गरेर जानकारी दिने महासंघका उपमहासचिव वसन्त भण्डारीले जानकारी दिए। उनले साउन ७ सम्म लकडाउन नै रहेको र त्यसपछि थप नभएमा अन्तरजिल्ला पनि सञ्चालनको तयारी गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.