|

काठमाडौं : नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले के गर्छ भन्ने चासो छ। माओवादीले समर्थन फिर्ता लिएको घोषणा गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिई संसद्बाट विश्वासको मत लिने तयारीमा रहेको उनी निकटका नेताहरु बताउँछन्।

अब एमालेले के गर्छ भन्ने विषय सोसल मिडियामा पनि दिनभर 'हट केक' बन्यो। यस विषयमा एमाले नेता/कार्यकर्ताको फरक फरक मत आइरहेका छन्। कसैले सरकारको पक्षमा धारणा सार्वजनिक गरेका छन् भने कसैले विपक्षमा। 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताले माओवादी केन्द्रप्रति कटाक्ष गर्दै टिप्पणी सार्वजनिक गरेका छन्। कतिपय नेताले भने आफ्नै कारण सरकार ढलेको प्रतिक्रिया दिएका छन्।  

माओवादी सरकारबाट बाहिरिएपछि एमाले उपाध्यक्ष बामदेव गौतमले अहिलेको सत्ता समीकरण टुट्नुमा एमालेभित्रका अत्यन्त घमण्डी र दम्भ बोकेका केही व्यक्त्तिहरु जिम्मेवार भएको आरोप लगाए। माओवादी केन्द्रले समर्थन फिर्ता लिनुमा उसँग भएको ९ बुँदेलगायतका सहमति कार्यान्वयन नहुनु नै मुख्य कारण रहेको गौतमको भनाइ छ । 

'हाम्रो पार्टी नेकपा एमालेमा अत्यन्त घमण्डी र दम्भ बोकेका व्यक्त्तिको बढी प्रभाव पर्‍यो । विगतमा भएका सहमति लागू गर्न दिइएन', उनले भने, 'अहिलेको समीकरण टुट्नु हुँदैनथ्यो। प्रधानमन्त्री परिवर्तन भएपनि यही समीकरण कायम राख्नपर्छ भन्ने थियो। सहमति पनि त्यही हो। तर त्यो लागू गर्न ध्यान पुगेन।'

एमाले स्थायी समितिका सदस्य शंकर पोखरेलले माओवादीले म्याच फिक्सिङ गरेर आत्मघाती गोल गरेको प्रतिक्रिया दिएका छन्। पोख्रेलले ट्विटरमा लेखेका छन्- 'राष्ट्रवादी गठबन्धन विरुद्ध म्याच फ़िक्सिङ गरेर माओवादी केन्द्रले आत्मघाती गोल हानेछ। उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ।'

पोखरेलले माओवादीलाई त्रास र आश देखाएर केही पक्षले सरकारबाट बाहिरिन लगाएको समेत दाबी गरेका छन्। 'सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आदिसँग जोडिएर हेग अदालतको त्रास देखाएर माओवादीलाई गलाउन, शिविरको भ्रष्टाचार आदि इत्यादिबाट मुद्दा चलाउँछौ भनेर थ्रेट गरेर आफ्नो पक्षमा ल्याउने खेल खेलिरहेकाहरु सफल भए', उनले थाहाखबरसँग भने।  

एमाले स्थायी कमिटिका सदस्य किरण गुरुङले नेकपा माओवादीले आत्मघाती निर्णय गरेको प्रतिक्रिया दिएका छन्। फेसबुकमा गुरुङ लेख्छन्- 'केन्द्रको सरकारबाट समर्थन फिर्ता लिने आत्मघाती निर्णयले देश फेरि अन्यौलको अवस्थामा गएको छ। सत्ता स्वार्थको चक्रमा परेर गरेको यो निर्णय इतिहासमा कालो धब्बाको रुपमा रहनेछ।' 

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपको आवश्यकता फेरि महसुस भएको प्रतिक्रिया दिएका छन्। फेसबुकमा उनले लेखेका छन्- 'जनताबाट प्रत्यक्ष निर्वाचत प्रधानमन्त्री हुने साशकीय स्वरुपको आवश्यकता फेरि महसुस भएको छ। तर के गर्ने जसले महसुस गर्नु पर्ने हो उनीहरु गर्दैनन्...!' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.