|

सिन्धुली : शीतलपाटीमा एक सय मिटर सडक भत्किँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।  शीतलपाटी–९ बेनीघाट खाल्टेस्थित सडकको सडकको भाग अाइतबार राति ११ बजेतिर सुनकोसीमा खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए। राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी जमिन तल भासिएको उनले बताए। 

गए रातिदेखि राजमार्ग अबरुद्ध भएपछि बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी रोकिएका छन् भने यात्रु बिचल्लीमा परेका छन्। रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएका छन् । 

सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

यस्तै महोत्तरी हुँदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ। रातिदेखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताए। वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पुर्‍याउन लागिपरेको उनकाे भनाइ छ। 

सडकको जग बलियोसँग नबसाइएको, भूकम्पका कारण चर्किएको र बर्सात्मा सुनकोसीले जग खोलिदिँदा सडक भत्केको अनुमान गरिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.