|

काठमाडौं : दुई सातापछि मंगलबार दिउँसो १ बजे व्यवस्थापिका संसद्को बैठक बस्दैछ। बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने भनिए पनि सम्भावित कार्यसूचीमा नरहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकसँग छलफल गरेपछि मात्रै कार्यसूची तय हुने बताएकी छिन्। यसका लागि मंगलबार दिउँसो १२ बजे सभामुखले प्रमुख ८ दलका प्रमुख सचेतकहरूको बैठक बोलाएको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।  शर्माका अनुसार सभामुखले प्रमुख प्रतिपक्षी दलसँग पनि अनौपचारिक संवाद जारी राख्ने भएकी छिन्।

यसअघि साेमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको थियो। मंगलबारको संसद् बैठकमा लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा सिफारिस समितिको प्रतिवेदन पेश हुने संसद् सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए।

बैठकमा कम्पनी ऐन संशोधनसम्बन्धी विधेयक, सर्वाेच्च तथा उच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिकसम्बन्धी विधेयक र विधायन समितिको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.