अन्य केही उच्चअधिकारी पनि संक्रमित

|

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ। अख्तियार कार्यरत कर्मचारी र प्रहरी संक्रमति भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा घिमिरेलाई पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेका ड्राइभर र पछुवा गाडीमा सुरक्षार्थ तैनाथ सातजना प्रहरीलाई यसअघि नै कोरोना भएको थियो। त्यसलगत्तै घिमिरेको पनि स्वाब परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको हो।

आफ्ना सवारी चालक र पछुवा गाडीका प्रहरीमा पनि कोरोना देखिएपछि घिमिरे टंगालस्थित कार्यालयमा आएका थिएनन्। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेसहित अख्तियारका अन्य तीन उच्च अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ। तर मन्त्रालयले ती अधिकारीहरुबारेको विवरण गोप्य राखेको छ। 

आफ्ना कर्मचारीलाई कोरोना पुष्टि भएपछि घिमिरे घरमै आइसोलेट भएका थिए। काठमाडौंमा कोरोना फैलिएसँगै अख्तियारमा पनि संक्रमण बढेको छ। पछिल्लो समय देशका विभिन्‍न भागमा स्टिङ अप्रेशन गर्ने क्रममा जाँदा प्रहरी र कर्मचारीलाई संक्रमण भएको थियो। 

अख्तियारमा कार्यरत ४१ जनामा कोरोना पुष्टि भइसकेको छ। पहिलो पटक एकजना प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अन्य १४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि थप २० जनामा प्रहरी र कर्मचारीमा कोरोना देखिएको थियो। पछिल्लो पटक थप ६ जना कर्मचारी र उच्च अधिकारीमा कोरोना पुष्टि भएर संक्रमितको संख्या ४१ पुगेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.