|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आगामी महाधिवेशनमा आफूलाई सभापति पदमा समर्थन दिन आग्रह गरेका छन्‌। 

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ गते आयोजना गर्दैछ। हालका सभापति देउवाको पक्षधर मानिएपनि पछिल्लो समय पार्टीभित्र आफ्नो छुट्टै शक्ति स्थापित गर्न खोजिरहेका निधिले देउवा र पौडेललाई आफूले सभापतिमा उम्मेदवारी दिने जानकारी गराएका हुन्‌। 

देउवालाई निवासमै भेट्न गए

देउवाको विरुद्ध उत्रिन नसक्ने भन्ने धेरैको आकलनलाई निधिले शनिबार विफल तुल्याए। देउवा समूहमा अर्का कुनै पनि व्यक्तिले आगामी महाधिवेशनमा सभापतिका लागि तयारी गरेका थिएनन्‌। देउवा अझै एक कार्यकाल सभापति बन्ने र प्रधानमन्त्री बन्ने रणनीतिमा छन्।

शनिबारको भेटमा निधिले देउवालाई आफू सभापतिको उम्मेदवार बन्ने र सहयोग गर्न आग्रह गरिसकेपछि देउवा गुटमा पनि तरंग पैदा भएको छ। उनीहरुबीच साँझ ५ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। विभाग गठनमा विरोध भएपछि अब के गर्ने भन्ने छलफलका लागि देउवाले निधिलाई बोलाएको बुझिएको छ। तर, छलफल त्यो भन्दा फरक विषयमा केन्द्रित भएको र सुरूमै निधिले देउवालाई सबै कांग्रेसीको अभिभावक बन्न आग्रह गरेका थिए।

सभापति देउवासँग निधिले भनेको कुराहरु उदृत गर्दै स्रोतले थाहाखबरलाई भन्यो, ‘तपाईंले के विषयमा छलफल गर्न खोज्नु भएको हो, त्यो कुरा पहिले सल्लाह नगर्नाले समस्या निम्तिएको हो। तर, म यो विषयमा केही भन्दिनँ। आज एउटा महत्वपूर्ण छलफलका लागि तपाईँलाई भेट्न आएको हुँ। १४ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको कसरतमा छु।’ निधिले अगाडि थपे, ‘सर्वसम्मत नेतृत्वको लागि तपाईंले मलाई सभापतिको उमेदवारका निम्ति समर्थन जनाउनुस्, अब तपाईं सबै कांग्रेसीको अभिभावक भएर बस्नुस। सल्लाह दिनुस्। म चाहिँ सभापति लड्ने पक्का हो, सहयोग गर्नुस्।’

फेरि सभापति बन्ने तयारी गरिरहेका देउवालाई निधिले नै सभापतिको तयारी गरेको र आफूलाई यसरी भन्ने आँट गर्लान भन्ने नलागेको स्रोतले बतायो। ‘विमलेन्द्रले आफू नै सभापति बन्छु भनेर बाहिर भने पनि आफूले नै बोलाएको भेटमा म नै बन्छु कसरी भन्यो भनेर सभापतिले अचम्म मानिरहनु भएको छ,’ देउवा निकटका एक नेताले भने, ‘विमलेन्द्रको तयारीले सभापतिज्यु केही झस्किनु भएको छ।’ 

छलफलमा विमेन्द्रले सभापतिको सर्वसम्मत उमेदवारका लागि समर्थन र सहयोग गर्न भनेपछि देउवाले १५ औँ महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएका छन्‌। ‘यो एक कार्यकाल म नै सभापति लड्छु, मलाई समर्थन गर्नु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयका एक नेताले भने, ‘१५ औँ महाधिवेशनमा तपाईं लड्नु, म आफैँ तपाईंलाई प्रस्ताव गरौँला।’ 

तर, देउवाको भनाइबाट सन्तुष्ट नभएपछि निधिले १५ औँ महाधिवेशन आफूहरु नेतृत्वमा आउनका लागि नभएको बताए। ‘१५ औँ महाधिवेशनमा त गगन, मिनेन्द्रहरुको टिम नेतृत्वमा आउँछ र आउनु पनि पर्छ,’ असन्तुष्ट हुँदै निधिले भने, ‘यो कार्यकाल म जुन कुनै हालतमा पनि सभापतिको उमेदवार हुने हो। मैले अरु साथीहरुलाई पनि यही भनेको छु, साथीहरु सकरात्मक छन्। नेतृत्व भएको हिसाबले तपाईंलाई मैले जानकारी गराउनै पर्थ्यो, गराएँ। अहिले म निस्किएँ।’ 

रामचन्द्रसँग फोन वार्ता 

देउवालाई सभापति लड्न लागेको जानकारी गराएर बूढानीलकण्ठबाट बाहिरिएका निधिले शनिबार नै वरिष्ठ नेता पौडेललाई पनि १४ औँ महाधिवेशनमा आफू सभापतिको सर्वसम्मत उमेदवार बन्ने तयारी गरिरहेको जानकारी गराए। निधिले पौडेललाई फोन गरेर आफ्नो तयारीबारे जानकारी गराएका हुन्।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले वरिष्ठ नेता पौडेल र उपसभापति निधिबीच टेलिफोनमा कुराकानी भएको बताए। निधि देउवाको विकल्पमा आफूलाई प्रस्तुत गर्न संस्थापन इतर समूहसँग पनि औपचारिक र अनौपचारिक छलफल अघि बढाइरहेका छन्।

निधिले पौडेलसँग पनि देउवालाई भनेकै कुरा दोहोर्‍याए। उनले भने,‘म सभापति लड्छु तपाईंहरु अभिभावक हुनुस् भन्नका लागि फोन गरेको। कांग्रेसको नेतृत्व सर्वसम्मत चयन गर्न अब मलाई समर्थन गर्नुस्।’ निधिले यति भनेपछि पौडेलले देउवाको जस्तो जवाफ दिएनन्। पौडेलले निधिलाई भने, ‘यो विषयमा पछि छलफल गरौँला। तर, पहिले महाधिवेशन हुने ग्यारेन्टी हुनुपर्‍यो ।’

त्यसो त देउवाले केही दिनअघि मात्रै सभापतिकै आकाङ्क्षी तथा कांग्रेसका संस्थापक वीपीका पुत्र शशांक कोइरालालाई भेटेर महाधिवेशन केन्द्रित छलफल गरेका थिए। उनीहरुबीच के विषयमा छलफल भएको भन्नेबारे खासै सूचना बाहिर आएको छैन। उता निधिले पनि शशांकलाई भेटेर आफूलाई सहयोग गर्न भनिसकेका छन्। 

वरिष्ठ नेता पौडेललाई यसपाली पनि आफ्नो पक्षका नेताहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ। अघिल्लो महाधिवेशनमा नेता व्यवस्थापन गर्न नसकेकै कारण पौडेलले चुनाव हारेका थिए। पौडेल समूहमा आधा दर्जनभन्दा धेरै नेताहरु सभापतिको आकांक्षी छन्।

निधि र देउवा टाढिएकै हुन्‌ ? 

सभापति देउवा र उपसभापति निधिबीच पछिल्लो समय मनमुटाव बढेको छ। सरकारले ल्याएको नागरिकता विधेयक होस् या भारतसँगको सीमा विवादमा, देउवा र निधिबीच चर्काे मतभेद रहँदै आएको छ। पछिल्लो समय नागरिकता विधेयकको विषयमा देउवासँग निधि रुष्ट छन्।

अहिले कांग्रेसको नेताहरु अन्य पदाधिकारी भन्दा पनि सभापतिकै लागि कसरत गरिरहेका छन्। सभापतिका लागि एक दर्जन नेताहरुले आकांक्षा देखाएका छन्। सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा देखि गगन थापासम्मको चर्चा छ। 

कांग्रेसमा विशेषत तीन वटा समूह सक्रिय छ। सभापति देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह। यी तीनै जना नेता पनि आगामी महाधिवेशनमा सभापतिको लागि आफू नै उम्मेदवार हुने रणनीति अपनाइरहेका छन्।

त्यसो त अहिले सबै भन्दा अप्ठ्यारोमा वरिष्ठ नेता पौडेल देखिन्छन्। उनकै समूहका आधा दर्जन भन्दा धेरै नेता सभापतिकै लागि तयारी गरिरहेका छन्। तर, पौडेललाई भन्दा धेरै हिसाबले सभापतिको उम्मेदवार बन्न सजिलो भनिएको देउवालाई पनि अप्ठ्यारो सुरु भइसकेको छ।

कुनै समय देउवा कै उत्तराधिकारीका रुपमा नेविसंघमा आएका निधिले सभापतिको उमेदवार आफू नै सर्वसम्मत हुनुपर्ने भन्दै नेताहरुसँग भेटघाट र टेलिफोन वार्ता तीव्र पारेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.