|

सर्लाही : हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीले जोखिम भत्ता माग्दै नगरपालिका कार्यालयको मुलगेटमा धर्ना सुरु गरेका छन्। नगर कार्यपालिकाको बैठकले गत चैत २० गते स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय भए पनि हालसम्म उक्त जोखिम भत्ता उपलब्ध नभएकोले भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरु गत शुक्रबारदेखि धर्नामा बसिरहेका हुन्।

कोरोना संक्रमणमा क्वारेन्टाइनमा खटिँदा तलबको शतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि उपलब्ध नभएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले गुनासो गरे। 

कार्यपालिका बैठकले निर्णय गरेको चार महिनाभन्दा बढी भइसक्दा समेत सेवा सुविधा नपाएपछि आन्दोलन नै गर्नुपरेको संयोजक महतोले बताए।  उनका अनुसार एक/दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै बसेर सेवा प्रदान गरिरहेका छन् भने बाँकी नगरपालिकामा आएर धर्नामा बसिरहेका छन्। 

शुक्रबारदेखि नगरपालिका कार्यालयमै धर्नामा बसिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम सुरक्षा भत्ता र स्वास्थ्य सुरक्षा सामग्री माग गरेका छन्। संकटको समयमा जोखिम मोलेर काम गर्दा समेत श्रम शोषण नगर्न स्वास्थ्यकर्मीले माग राखेका छन्। आन्दोलित स्वास्थ्यकर्मी र नगरपालिकाबीच आइतबार दिउँसो भएको वार्ताबिना निष्कर्ष टुंगिएको छ।

वार्तामा नगरप्रमुख जमिरुदिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले, विभिन्न वडाध्यक्ष र आन्दोलित स्वास्थ्यकर्मीका केही प्रतिनिधि सहभागी भएका थिए। क्वारेन्टाइनमा खटिँदा दिने भनिएको सय प्रतिशतको साटो ३० र स्वास्थ्य संस्थामा खटिँदा दिने भनिएको ५० प्रतिशतको साटो १५ प्रतिशत मात्रै भत्ता उपलब्ध गराउने बताइएपछि स्वास्थ्यकर्मीहरुले अस्वीकार गरेका हुन्। 

कार्यपालिकाको निर्णयअनुसारको भत्ता उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। नगरपालिकाका प्रमुख मन्सुरले बजेट अभावका कारण निर्णयअनुसार स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउन नसकिएको बताए। हाल हरिपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुमा ६५ जनाको हाराहारीमा स्वास्थ्यकर्मी कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.