|

मनाङ : हिमाली जिल्ला मनाङका फाँटहरु यतिबेला फूलबारी जस्तै  ढकमक्क फापरका फूलले राताम्मै देखिएका छन्। फूल खेलेर  फापर  झुल्दै गर्दा कतै  फूलैफूलको बैगैँचा त होइन जस्तो भान हुन्छ।

जिल्लाकै प्रमुख बालीको रुपमा लिइने फापर खेती मनाङका सबै ठाउँमा  हुने गर्छ। यसका तीते फापर तल्लो भेगमा लगाइन्छ भने मीठे फापर चाँहि माथिल्लो भेगमा उत्पादन हुने गरेको ७५ वर्षीय स्थानीय किसान याङदुङ गुरुङले बताए। 

उनका अनुसार पहिलेको तुलनामा यस वर्ष अझै फस्टाउँदै आएको  छ।  धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुन थालेपछि किसानहरु हौसिएका छन्। फापरले उनीहरूलाई आत्मनिर्भर पनि बनाएको छ।

यहाँका सबै गाउँपालिकाका किसानले फापर खेती गरेका छन्। मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु बस्तीलगायत तल्लो क्षेत्रमा फापर खेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए। मनाङमा यस वर्ष २ सय ९६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको छ। गतवर्ष २ सय ९२ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

आर्थिक वर्ष ०७४/७५ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएकोमा ५ सय ८ टन फापर उत्पादन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा २ सय ८६ हेक्टरमै खेती गरिएकोमा ५ सय २ टन उत्पादन भएको थियो । तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ।

स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको पिसाङका याङडुङ गुरुङले बताए। ‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई खुवाउँछौं। उनीहरू विशेष रूपले मन पराउँछन्।’

फापरको पीठोबाट तयार पारिएको ढिँडो र रोटी पोषणसँगै साग निकै महत्व रहेको स्थानीय कर्म छिरिङ गुरुङले  बताए। उनले भने, ‘फापरको साग निकै पोषिलो हुन्छ हामीले यसलाई आलोमा  तरकारीको रुपमा प्रयोग गर्छौ र सुकाएर पछि हिउँदमा यसको धुलो औषधीको रुपमा सुप बनाएर खाने गर्छौं। यसले शरीरको तापक्रमलाई सन्तुलन गर्छ।‘

मनाङमा विगतका वर्षहरुमा यहाँको लोभलाग्दो फापर खेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गरे पनि यसवर्ष भने कोरोनाका कारण पर्यटक पुग्न सकेका छैनन्।

तल्लो क्षेत्रको नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती फैलिएको देख्न सकिन्छ।

स्थानीयले प्राय जेठ अन्तिम साता र असारमा बिउ छर्ने गर्छन भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.